काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा निकायबिच निरन्तर समन्वय र परिस्थिति अनुसार संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय गरिएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहदेखि समापनसम्मको सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउन सुर्खेतमा निरन्तर विशेष सुरक्षा समन्वय बैठक भइरहेको छ । बैठकले सुरक्षा निकायबिच तत्काल सूचना आदानप्रदान गर्ने र आवश्यकताअनुसार संयुक्त परिचालन गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते प्रधानमन्त्री शाहको उपस्थितिमा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ ।
विशिष्ट व्यक्तिहरूको आगमन, खेलाडी तथा अफिसियलको आवास व्यवस्थापन र दर्शकको बाक्लो उपस्थितिलाई ध्यानमा राखेर सुरक्षा रणनीतिमाथि छलफल गरिएको छ ।
रंगशालामा प्रवेश र बाहिरिने मार्गको व्यवस्थापन, भीड नियन्त्रण, सवारीसाधनको पार्किङ, ट्राफिक व्यवस्थापन, खेलस्थलमा सीसीटीभीमार्फत निगरानी, नियमित सुरक्षा गस्ती तथा अतिविशिष्ट पाहुनाको सुरक्षित आवागमनलाई सुरक्षा योजनामा प्राथमिकता दिइएको छ ।
मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तीन विभागीय टोली तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ११ टोलीका खेलाडी सहभागी छन् ।
सुरक्षा समन्वय बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही, सामाजिक विकास मन्त्री जीतबहादुर मल्ल, प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, प्रधानमन्त्रीका प्रेस संयोजक दिपा दाहाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता सहभागी थिए ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिवद्वय डा. रमेशकुमार केसी र लक्ष्मीकुमार विक, सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव रोशनीकुमारी श्रेष्ठ, सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा, सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठक र राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेश कार्यालयका अनुसन्धान निर्देशक नवीनराज अधिकारीको सहभागिता थियो ।
बैठकमा कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव रोविन चन्द, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव विद्याप्रसाद उपाध्याय र शाखा अधिकृत नवराज शर्मा, उत्तरपश्चिम पृतना निमारे ब्यारेकका महासेनानी विदुर अधिकारी, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल र कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर खड्का पनि सहभागी थिए ।
सुरक्षा प्रबन्ध उपसमितिका सचिव सरोजकुमार पोखरेल र सदस्य कुमार बस्नेत, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव राकेशबहादुर शाही, निजी सचिव मुकुन्द शर्मा तथा स.प्र.उ.ना. बिरसिंह धामीसमेत बैठकमा उपस्थित थिए ।







