काठमाडौँ। औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको लिनारेस एम ८५० ट्याब्लेटको नमुना परीक्षणमा न्यून गुणस्तर भेटिएपछि उक्त औषधिको एक ब्याच तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।
विभागले २०८३ असार १२ गते जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत सम्बन्धित उद्योग तथा त्यसका प्रतिनिधिलाई औषधिको बिक्री–वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न तथा त्यसको विवरण विभागमा पेश गर्न भनेको हो।
विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालाबाट गरिएको परीक्षणमा ब्याच नम्बर टीएलएमएस-००६ को लिनारेस एम ८५० ट्याब्लेट निर्धारित गुणस्तर मापदण्डअनुसार नभएको पाइएको छ। प्रयोगशालाको परीक्षण प्रतिवेदन एलएमआई ०७४/०७५/एपी/०३० अनुसार गरिएको असे परीक्षणमा उक्त औषधिले विश्लेषणात्मक मापदण्ड पूरा नगरेको विभागले जनाएको छ।
सूचनाअनुसार उक्त औषधिको प्रत्येक फिल्म-लेपित ट्याब्लेटमा लिनाग्लिप्टिन २।५ मिलिग्राम र मेटफर्मिन हाइड्रोक्लोराइड आईपी ८५० मिलिग्राम रहेको छ। यस औषधिको उत्पादन मिति नोभेम्बर २०२४ र म्याद समाप्ति मिति अक्टोबर २०२६ रहेको विभागले जनाएको छ।
विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त ब्याच नम्बरको औषधिको बिक्री–वितरण तत्काल रोक्का गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। साथै सम्बन्धित उद्योग तथा त्यसका प्रतिनिधिलाई बजारबाट फिर्ता गरिएको औषधिको विवरण विभागमा पेश गर्न पनि भनिएको छ।
त्यसैगरी विभागले उक्त ब्याच नम्बरका औषधिको सिफारिस, बिक्री-वितरण तथा प्रयोग नगर्न र नगराउन सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
सूचनाअनुसार उक्त औषधिको उत्पादक ग्रेस फार्मास्युटिकल्स प्रालि, रुपन्देही, नेपाल रहेको छ।







