काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी नेतृत्व परिवर्तन र पुनर्गठन प्रक्रियालाई लिएर अनावश्यक उत्तेजना नदेखाउन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्।
उनले नेतृत्वले पुनर्गठनको प्रक्रियालाई अघि बढाइरहेको उल्लेख गर्दै तत्काल नेतृत्व छाड्न दबाब सिर्जना गर्न आवश्यक नरहेको बताएका छन्।
सोमबार बसेको पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा सम्बोधन गर्दै प्रचण्डले नयाँ नेतृत्व विकासका लागि पार्टी प्रतिबद्ध रहेको र युवालाई ५० प्रतिशत नेतृत्वमा स्थान दिने प्रतिबद्धता त्यसै व्यक्त नगरिएको स्पष्ट पारे।
पुनर्गठनको उपयुक्त मोडालिटीबारे नेतृत्वले आन्तरिक रूपमा छलफल गरिरहेको जानकारी दिँदै उनले केन्द्रीय सदस्यहरूलाई संयमित र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे।
उनले पुस्तान्तरणको विषयलाई द्वन्द्वका रूपमा व्याख्या गर्न नहुने उल्लेख गर्दै यसलाई दुई पुस्ताबीचको टकरावका रूपमा चित्रण गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे।
बैठकमा पार्टीका सहसंयोजक माधवकुमार नेपालले एकता प्रक्रियाका बाँकी सबै काम असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने बताए।
विभिन्न दल र समूहहरू एकीकृत हुँदा केही असन्तुष्टि देखिनु स्वाभाविक भए पनि समाधान हुन नसक्ने प्रकृतिका विवाद नरहेको उनको भनाइ थियो।
नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेतृत्व प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्षबाट रचनात्मक सहयोग आवश्यक पर्ने बताए।






