टीकापुर। कैलालीको टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ६७ लाख ३७ हजार १ सय रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
नगर प्रमुख र उपप्रमुख दुवै पद रिक्त रहेको अवस्थामा नगरसभाको बैठक ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा सम्पन्न भएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले आगामी आर्थिक वर्षको बजेट सभामा प्रस्तुत गरेका थिए।
बजेट प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत धितालले प्रारम्भिक रूपमा स्रोत तथा सीमा निर्धारण समितिले ९७ करोड ३५ लाख ७२ हजार रुपैयाँ स्रोत अनुमान गरेको भए पनि नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समपूरक तथा सशर्त अनुदान थपिएपछि कुल अनुमानित बजेट १ अर्ब ३ करोड ६७ लाख ७७ हजार १ सय रुपैयाँ कायम गरिएको जानकारी दिएका छन्।
नगर, वडा तथा विषयगत शाखाबाट प्राथमिकताका आधारमा छनोट भएका योजनालाई कार्यपालिका अन्तर्गतका विभिन्न समितिमा छलफल गरी कार्यपालिकाबाट स्वीकृत गरेपछि नगर सभामा बजेट प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ।






