काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोहबाट विभिन्न शैक्षिक तहका एक हजार ५२७ विद्यार्थी दीक्षित भएका छन्। यस वर्षको दीक्षान्त समारोह पहिलो पटक कुलपति रहेका प्रधानमन्त्रीको अनुपस्थितिमा सम्पन्न भएको हो।
यसअघि दीक्षान्त समारोहको अध्यक्षता कुलपति तथा प्रधानमन्त्रीले गर्ने परम्परा रहे पनि यसपटक शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको विश्वविद्यालयले जनाएको छ।
शिक्षामन्त्री पोखरेल स्वयं चार वर्षअघि काठमाडौँ विश्वविद्यालयबाट दीक्षित भएका पूर्वविद्यार्थी हुन्। विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री वालेन्द्र शाह भने हाल सोही विश्वविद्यालयमा अध्ययनरत छन्।
विश्वविद्यालय परिसरमा शुक्रबार आयोजित समारोहमा स्कुल अफ आर्ट्सबाट १६१, स्कुल अफ एजुकेसनबाट ११२, स्कुल अफ इन्जिनियरिङबाट ३५५, स्कुल अफ लबाट ४२, स्कुल अफ म्यानेजमेन्टबाट १४६, स्कुल अफ मेडिकल साइन्सेजबाट ५०४ तथा स्कुल अफ साइन्सबाट २०७ विद्यार्थी दीक्षित भएका छन्।
दीक्षित विद्यार्थीमध्ये २१ जनाले विद्यावारिधि, ९३ जनाले एमफिल तथा रिसर्च, २७९ जनाले स्नातकोत्तर, दुई जनाले पीजीडीई तथा एक हजार १३२ जनाले स्नातक तहको उपाधि प्राप्त गरेका छन्।
लैङ्गिक आधारमा दीक्षित हुनेमध्ये ८०० जना पुरुष र ७२७ जना महिला रहेका छन्, जसअनुसार क्रमशः ५२.३९ प्रतिशत र ४७.६१ प्रतिशत सहभागिता रहेको विश्वविद्यालयले जनाएको छ।
यसपटक अष्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका गरी १७९ विदेशी विद्यार्थी पनि दीक्षित भएका छन्। यो कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो। विश्वविद्यालयका अनुसार विदेशी विद्यार्थीको यो सहभागिता अघिल्लो दीक्षान्त समारोहको तुलनामा झन्डै ५० प्रतिशतले बढी हो।






