काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन शुक्रबार ८.३० अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २ हजार ६५३ अंकमा कायम भएको छ।
बजारमा दिनभर सामान्य उतारचढाव देखिए पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा वृद्धि भएको छ। बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत प्रदर्शनतर्फ अघिल्लो कारोबार दिन सबैभन्दा बढी वृद्धि भएको बैंकिङ समूहको स्थान शुक्रबार फाइनान्स समूहले लिएको छ। समग्र बजार ओरालो लागे पनि फाइनान्स समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ।






