काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कामु कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले कृषि अनुसन्धान तथा प्रविधि विकासलाई प्रभावकारी बनाउन किसानको व्यावहारिक अनुभव र आधुनिक वैज्ञानिक ज्ञानबीच समन्वय आवश्यक रहेको बताएका छन्।
नार्कद्वारा आयोजित नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिक कर्मचारीहरूको अभिमुखीकरण कार्यक्रममा उनले कृषि क्षेत्रमा दिगो र उपयोगी नवप्रवर्तन विकासका लागि स्थानीय तहमा उपलब्ध ज्ञान र वैज्ञानिक अनुसन्धानलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
उनले स्थानीय किसानसँग सहकार्य गर्ने कार्यशैलीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै किसानसँग लामो समयदेखि संचित व्यावहारिक अनुभव रहेको बताए। त्यस्तो अनुभवलाई अनुसन्धान प्रक्रियासँग जोड्न सके कृषि प्रविधिको विकास र विस्तार अझ प्रभावकारी बन्ने उनको भनाइ थियो।







