काठमाडौँ। घुस रकमसहित पक्राउ परेका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेलविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका अनुसार जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै कण्डेलले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
अनुसन्धानका क्रममा जग्गा रोक्का प्रक्रियाका लागि विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख-हैरानी दिँदै घुस रकम माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले कण्डेलको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) अनुसारको कसुर रहेको निष्कर्ष निकालेको छ।
सोही आधारमा ४० हजार रुपैयाँ बिगो कायम गर्दै कानुनबमोजिम कैद र बिगो बराबर जरिवानाको मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।







