काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको हिरासत अवधि थप पाँच दिनका लागि बढाइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विशेष अदालतले अनुसन्धानका लागि थप समय उपलब्ध गराएको हो।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पौडेललाई गत ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि अदालतबाट यसअघि क्रमशः ७ दिन, ३ दिन र ६ दिन गरी तीन पटक अनुसन्धानका लागि म्याद थप भइसकेको थियो।
यसैबीच, पौडेलको रिहाइको माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज भएको छ। सर्वोच्चको निर्णयसँगै पौडेल हिरासतमा रहेर अनुसन्धान प्रक्रिया अघि बढ्ने भएको छ।







