काठमाडौँ । नेकपा (एमाले) की सांसद सजिदा खातुन सिद्धिकीले स्वदेशी शिक्षा प्रणालीको महत्वलाई कमजोर बनाउने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताएकी छन्।
बुधबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विदेशी शिक्षाप्रतिको बढ्दो आकर्षणले मुलुकको शैक्षिक जनशक्ति विकास र समग्र शिक्षाको गुणस्तरमा प्रतिकूल प्रभाव पारेको उल्लेख गरिन्। उनले यस विषयलाई गम्भीर रूपमा लिएर सम्बन्धित निकाय तथा सरोकारवालाले आवश्यक पहल गर्नुपर्ने धारणा राखिन्।
उनले देशभर सञ्चालनमा रहेका निजी कोचिङ सेन्टरको व्यवस्थापन र सुधारका लागि सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको पनि बताइन्। कोचिङ संस्थाहरूलाई निश्चित मापदण्ड र अनुशासनभित्र सञ्चालन गराउन स्पष्ट नियामक व्यवस्था लागू गर्नुपर्नेमा उनले जोड दिइन्।
सांसद सिद्धिकीले गुणस्तरीय र विश्वासिलो स्वदेशी शिक्षा प्रणाली निर्माणका लागि नीतिगत सुधारसँगै प्रभावकारी नियमन र समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।







