काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आयोगको कोष सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ पारित गरेको हो।
बैठकमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कोष सञ्चालन कार्यविधि स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि छलफलपछि बैठकले कार्यविधि अनुमोदन गरेको जनाइएको छ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सहअध्यक्षका रूपमा सहभागिता जनाएका थिए।
अख्तियार र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन संसदमा प्रस्तुत
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी हुन्।
बैठकमा महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदनसमेत पेश गरिएको छ। उक्त प्रतिवेदन पनि प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले नै संसद्मा प्रस्तुत गरेकी हुन्।
संवैधानिक व्यवस्था अनुसार संवैधानिक निकाय तथा सम्बन्धित कार्यालयका वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने प्रावधान रहेको छ।







