काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोडेर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा फैलाइएका समाचार तथा सामग्री तथ्यहीन र भ्रामक रहेको जनाएको छ।
शुक्रबार सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जारी गरेको विज्ञप्तिअनुसार असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। उक्त घटनामा ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नलगाएको तथा ट्राफिक कारबाहीसँग घटनाको कुनै सम्बन्ध नरहेको कार्यालयले स्पष्ट पारेको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायबाट कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको छ।
अनुसन्धान निष्कर्षमा नपुग्दासम्म अपुष्ट र कपोलकल्पित सूचना प्रसारण नगर्न तथा आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्यलाई मात्र आधार मानेर समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारणसँग आग्रह गरिएको छ।
नेपालीले त्रिपुरेश्वरमा बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए । ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।








