काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका पठाओ चालक गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै भट्टराईले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु एक व्यक्तिको दुःखद अन्त्य मात्र नभई देशको गम्भीर अर्थ-राजनीतिक संकटको प्रतिबिम्ब भएको बताएका छन्।
‘मुगुका २५ वर्षीय युवा गणेश नेपालीको राजधानी काठमाडौँमा राहदानी विभाग अगाडि आत्मदाह प्रयासका क्रममा जलेर निधन हुनु अत्यन्त दुःखद र गम्भीर घटना हो,’ उनले लेखेका छन्।
भट्टराईले गणेशको मृत्युले लाखौँ युवालाई बेरोजगार बनाइरहेको देशको गम्भीर अर्थ-राजनीतिक संकट उजागर गरेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान खोज्नुको सट्टा समस्यालाई ढाकछोप गर्ने राज्यको प्रवृत्ति लज्जास्पद रहेको टिप्पणी गरेका छन्।
‘यसले एक जना होनहार युवाको अकालमा भएको दुःखद मृत्युवरण मात्र होइन, पचासौँ लाख युवालाई बेरोजगार बनाउने देशको गम्भीर अर्थ-राजनीतिक संकट र त्यसको दिगो समाधान सट्टा ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने राज्य संरचनाको लज्जास्पद चरित्रलाई उजागर गर्छ। सबै गम्भीर बनौँ,’ उनले लेखेका छन्।







