२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आत्मदाहदेखि आन्दोलनसम्म : गणेश नेपाली मृत्यु प्रकरणले उठाएका राज्य, कानुन र प्रशासनका गम्भीर प्रश्न

अ+ अ-

राहदानी विभागअगाडि सुरु भएको एउटा पार्किङ विवाद केही घण्टामै आत्मदाह र त्यसपछि मृत्युमा परिणत भयो । घटनाले सडकदेखि सदनसम्म राज्यको संवेदनशीलता, कानुनको कार्यान्वयन र सार्वजनिक प्रशासनमाथि गम्भीर बहस सुरु गराएको छ ।

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर बिहीबार भएको एउटा घटनाले शुक्रबारसम्म आइपुग्दा मुलुकको राजनीतिक, सामाजिक र प्रशासनिक बहसको केन्द्र बन्यो । पार्किङ विवादबाट सुरु भएको घटनाक्रम आत्मदाह प्रयास हुँदै उपचारकै क्रममा गणेश नेपालीको मृत्युमा टुंगियो । त्यससँगै सडकमा विरोध प्रदर्शन चर्कियो, संसदमा सरकारसँग जवाफ मागियो र सामाजिक सञ्जालमा राज्यको भूमिका, कानुनको कार्यान्वयन तथा प्रशासनिक संवेदनशीलताबारे व्यापक बहस सुरु भयो ।

घटनाको यथार्थ अनुसन्धानबाट मात्रै स्थापित हुनेछ । कसको जिम्मेवारी कहाँसम्म पुग्छ भन्ने विषय सम्बन्धित निकायको अनुसन्धान र त्यसपछि हुने कानुनी प्रक्रियाले नै निर्धारण गर्नेछ । तर उपलब्ध प्रारम्भिक अनुसन्धान, प्रत्यक्षदर्शीका विवरण, सडकमा देखिएको जनआक्रोश र संसदमा उठेका आवाजहरूले एउटा तथ्य भने स्पष्ट देखाएका छन् –यो घटना अब एउटा व्यक्तिको आत्मदाह वा मृत्युमा मात्र सीमित छैन । यसले सार्वजनिक प्रशासन, शहरी व्यवस्थापन, कानुन कार्यान्वयन, नागरिक प्रतिको व्यवहार, सेवा प्रवाह र नागरिक–राज्य सम्बन्धसँग जोडिएका गम्भीर प्रश्नसमेत उठाएको छ ।

पार्किङ विवादबाट सुरु भएको घटनाक्रम
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बिहीबार बिहान करिब सवा ११ को हारामारीमा मुगुका गणेश नेपाली त्रिपुरेश्वरस्थित राहदानी विभागको २ नम्बर गेटअगाडि पुगेका थिए । उनले आफ्नो मोटरसाइकल ’नो पार्किङ’ लेखिएको स्थानमा रोकेको प्रहरीको भनाइ छ ।

त्यसबेला काठमाडौँ महानगरपालिकाका नगर प्रहरी कर्मचारी पार्किङ व्यवस्थापनमा खटिएका थिए। उनीहरूले मोटरसाइकल अन्यत्र सार्न आग्रह गरे । प्रहरीका अनुसार मोटरसाइकल तत्काल नहटाएपछि दुवै पक्षबीच भनाभन सुरु भयो ।

प्रहरीको अनुसन्धानमा नगर प्रहरीले मोटरसाइकल नहटाए ‘ह्विल लक’ लगाइने चेतावनी दिएको उल्लेख छ । त्यसक्रममा केहीबेर विवाद भएको र नगर प्रहरी कर्मचारीले मोबाइलबाट भिडियो रेकर्डसमेत गर्न थालेको जनाइएको छ ।

त्यसपछि गणेश नेपाली मोटरसाइकल लिएर राहदानी विभागको ३ नम्बर गेटतर्फ पुगे । केही मिनेटपछि नगर प्रहरीले पुनः मोटरसाइकलमा ‘ह्विल लक’ लगायो । सार्वजनिक रूपमा बाहिरिएका भिडियोमा पनि त्यसक्रममा दुवै पक्षबीच भनाभन भएको देखिन्छ ।

ह्विल लक, विवाद र बढ्दै गएको तनाव
प्रहरीको विवरणअनुसार मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि विवाद थप चर्किएको थियो । घटनास्थलमा सर्वसाधारणको भिडसमेत जम्मा भएको थियो ।

त्यसपछि नगर प्रहरीले महानगर कार्यालयमा फोन गरी ‘ह्विल लक’ गरिएको मोटरसाइकल लैजान गाडी माग गरेको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । केही बेरपछि नेपाल प्रहरीका सुरक्षाकर्मी पनि घटनास्थल पुगेका थिए ।

प्रहरीले गणेश नेपालीसँग प्रारम्भिक सोधपुछ गरेको र त्यसपछि उनी केहीबेर घटनास्थल वरपर ओहोरदोहोर गरिरहेको जनाएको छ ।

पेट्रोल निकालिएको दृश्य, तर कसैले अनुमान गरेन अर्को क्षण
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दिउँसो करिब सवा १२ बजेको आसपास गणेश नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर पानीको बोतलमा राखेका थिए ।

नगर प्रहरी कर्मचारीले त्यसबारे सोध्दा उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकाल्न पाउने जवाफ दिएको अनुसन्धानमा उल्लेख छ ।

सीसीटीभी फुटेजमा अर्को एक व्यक्तिले पेट्रोल निकाल्न सहयोग गरेको पनि प्रहरीको दाबी छ । यद्यपि त्यसबेला उपस्थित कसैले केही बेरपछि यति ठूलो दुर्घटना हुने अनुमान नगरेको  देखिन्छ ।

घटनास्थलमा त्यसपछि पनि महानगर र नेपाल प्रहरीका कर्मचारी उपस्थित थिए । महानगरको गाडीसमेत त्यहाँ पुगिसकेको थियो ।

केही सेकेन्डमै बदलियो घटनाको दिशा
प्रहरीको अनुसन्धानअनुसार दिउँसो करिब साढे एक बजेको आसपास गणेश नेपालीले राहदानी विभाग परिसर नजिकै आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए ।

आगो लागेको अवस्थामा उनी केहीबेर दौडिएको र त्यसपछि स्थानीय नागरिक तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरेको प्रहरीको विवरणमा उल्लेख छ ।

प्रहरीका अनुसार करिब एक मिनेटभित्र आगो नियन्त्रणमा ल्याइएको थियो । त्यसपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको थियो ।

घटनास्थलबाट प्रहरीले बोतल, लाइटर, जलेका कपडालगायत सामग्री संकलन गरी अनुसन्धान सुरु गरेको जनाएको छ । प्रत्यक्षदर्शी, नगर प्रहरी कर्मचारी र नेपाल प्रहरीका सदस्यसँग बयानसमेत लिइएको छ ।

उपचारको प्रयास र दु:खद् अन्त्य
गणेश नेपालीको शरीरको ठूलो भाग जलेका कारण वीर अस्पतालमा सघन उपचार सुरु गरिएको थियो । सरकारले उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो भने थप उपचारका लागि भारत लैजाने तयारीसमेत गरिएको थियो । तर उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको अस्पतालले पुष्टि गर्‍यो ।

उनको मृत्युको खबर सार्वजनिक भएसँगै घटनाले नयाँ मोड लियो । बिहीबारसम्म एउटा प्रशासनिक विवादका रूपमा सीमित देखिएको विषय शुक्रबार नागरिक आक्रोश, राजनीतिक प्रतिक्रिया र राज्यको उत्तरदायित्वमाथिको राष्ट्रिय बहसमा रूपान्तरण भयो ।

गणेश नेपालीको मृत्युसँगै सामाजिक सञ्जाल, सडक र संसदमा एउटै प्रश्न विभिन्न रूपले उठ्न थाल्यो-के एउटा सामान्य प्रशासनिक विवाद आत्मदाहसम्म पुग्नु केवल व्यक्तिगत निर्णयको परिणाम थियो वा यसले राज्यको सेवा प्रवाह, कानुन कार्यान्वयन र प्रशासनिक संवेदनशीलताका गहिरा प्रश्न पनि उजागर गरेको हो ?

यससँगै ‘ह्विल लक’ र जरिवाना प्रणाली, अत्यधिक सेवाग्राही हुने सरकारी कार्यालय वरपरको पार्किङ व्यवस्थापन, तनावपूर्ण अवस्थाको व्यवस्थापन, सार्वजनिक पदाधिकारीको व्यवहार, र नागरिकसँग राज्यको संवादका विषय पनि बहसको केन्द्रमा आए ।

घटनाको सत्यतथ्य अनुसन्धानबाट स्पष्ट हुने नै छ । तर प्रारम्भिक रूपमा उठेका यी प्रश्नहरूले कानुनको उद्देश्य, त्यसको कार्यान्वयनको शैली र सार्वजनिक प्रशासनको संवेदनशीलतामाथि भने गम्भीर छलफलको आवश्यकता औँल्याउन थालेका छन् ।

मृत्युपछि सडकदेखि सदनसम्म : आन्दोलन, राजनीतिक प्रतिक्रिया र सरकारसँग उठेका जवाफदेहिताका प्रश्न
शुक्रबार बिहान वीर अस्पतालले गणेश नेपालीको उपचारकै क्रममा निधन भएको पुष्टि गरेसँगै घटनाले नयाँ राजनीतिक र सामाजिक आयाम लियो । वीर अस्पताल परिसरमा सर्वसाधारणको भीड बढ्दै गयो । माइतीघर मण्डलामा प्रदर्शन सुरु भयो । केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भयो। उता संघीय संसदमा भने प्रतिपक्षी दलदेखि सत्तापक्षका केही सांसदसम्मले सरकारसँग जवाफ मागे ।

घटनाको निष्पक्ष छानबिन, दोषीको पहिचान, पीडित परिवारलाई राहत तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधारको माग सडक र सदन दुवैबाट उठ्यो । यद्यपि राजनीतिक दलका नेताहरूले घटनाको कारण र सरकारको भूमिकाबारे आ–आफ्नै दृष्टिकोण सार्वजनिक गरे ।

माईतीघरमा आक्रोश : नीतिगत सुधारको माग
गणेश नेपालीको निधनपछि राइड-सेयरिङ सेवामा आबद्ध चालक, सर्वसाधारण तथा विभिन्न समूहका नागरिक माइतीघर मण्डलामा भेला भए । उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति, अव्यवहारिक जरिवाना प्रणालीको पुनरावलोकन, पर्याप्त पार्किङ व्यवस्था तथा राइड-सेयरिङ व्यवसायका लागि स्पष्ट कानुनी कार्यविधि बनाउन माग गरे ।

प्रदर्शनका क्रममा सरकार र स्थानीय प्रशासनको आलोचना गर्दै विभिन्न नारा लगाइए । केही प्रदर्शनकारीले राज्यको नीति श्रमजीवी वर्गप्रति पर्याप्त संवेदनशील नभएको आरोप लगाए भने राइड-सेयरिङ क्षेत्रका युवाहरूले सामाजिक सुरक्षा, वैज्ञानिक भाडादर र कानुनी मान्यताका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।

उनीहरूको तर्क थियो-कर असुली र नियन्त्रणका विषयमा राज्य सक्रिय देखिए पनि श्रमिकको सुरक्षा, पूर्वाधार र नीतिगत व्यवस्थापनमा अपेक्षित सुधार हुन सकेको छैन ।

संसदमा सरकारमाथि प्रश्नहरूको वर्षा
घटनाले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा व्यापक चर्चा पायो। विभिन्न दलका सांसदहरूले आ–आफ्नो धारणा राखे । अधिकांशले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे ।

वर्षमान पुन : प्रधानमन्त्रीलाई आफ्नै पुरानो अभिव्यक्ति सम्झना
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले गणेश नेपालीको मृत्युले आफू स्तब्ध भएको बताउँदै प्रधानमन्त्री बालेन्द्र साहले विपक्षमा रहँदा संसद भवनअगाडि भएको आत्मदाह घटनापछि सामाजिक सञ्जालमा लेखेको अभिव्यक्ति स्मरण गराए ।

प्रधानमन्त्रीलाई आफ्नो पुरानो धारणा स्पष्ट गर्न आग्रह गर्दै उनले भने,“प्रधानमन्त्रीको यही दृष्टिकोण छ कि बदलियो ? सत्तामा पुगेपछि। म यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

उनले गरिब, विपन्न र श्रमजीवी नागरिकका लागि राज्यको संवेदनशीलता व्यवहारमै देखिनुपर्ने धारणा राखे ।

ज्ञानेन्द्र शाही : ‘सरकारको नीति हुनेखानेतर्फ केन्द्रित’
राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राज्यका नीति तथा निर्णय गरिब र श्रमिक वर्गको हितअनुकूल हुनुपर्ने धारणा राखे ।

उनले संसदमा भने,“सरकार ती व्यक्तिलाई चाहिन्छ, जो गरिब छन्, निमुखा छन् । तर आज सरकार ठ्याक्कै उल्टो देखिन्छ । सरकारका ऐन, नियम र नीति हुनेखाने, करोडपति र अर्बपतिहरूकै पक्षमा केन्द्रित देखिन्छ ।”

शाहीले काठमाडौँ सबै वर्गका नागरिकको साझा सहर भएकाले नीतिगत निर्णय पनि सबैका लागि समान रूपमा अनुभूत हुने हुनुपर्ने बताए ।

भूमिका लिम्बू सुब्बा : ‘यो एउटा व्यक्तिको मृत्यु मात्रै होइन’
एमाले सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युले राज्यको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको बताइन् ।

उनले भनिन्, “यो मृत्यु केवल एउटा व्यक्तिको मृत्यु मात्रै होइन। यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न पनि हो ।”

उनले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

राधिका रम्तेल : ‘लोकतन्त्रमा सरकार ढुंगाजस्तो मौन हुन मिल्दैन’
श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले सरकार जनप्रतिनिधिका प्रश्नप्रति उत्तरदायी हुनुपर्ने बताइन् ।

उनले भनिन्,“लोकतन्त्रमा सरकार ढुंगाजस्तो मौन हुन मिल्दैन। संसदमा उठेका जनप्रतिनिधिका आवाज सुन्नु सरकारको दायित्व र जवाफ दिनु संवैधानिक जिम्मेवारी हो ।”

उनले घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् ।

पार्वती विक : दोषीमाथि कारबाहीको माग
नेकपा (माओवादी केन्द्र) की सांसद पार्वती विकले घटनामा जिम्मेवार देखिने व्यक्तिमाथि कानुनी कारबाही गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

उनले भनिन्,“घटनाका दोषीहरूलाई कारबाही होस् । मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस् ।”

बासना थापा : ‘प्रधानमन्त्री किन मौन?’
नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले घटनाप्रति सरकार समयमै स्पष्ट रूपमा नबोलेको भन्दै प्रधानमन्त्रीसँग प्रश्न उठाइन् ।

उनले संसदमा भनिन्, “प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि प्रश्न उठाउने तपाईँ आज सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिन किन टाढा हुनुहुन्छ ?”

उद्धार प्रक्रिया, नागरिक सुरक्षाको अवस्था र राज्यको तत्परताबारे पनि उनले सरकारसँग जवाफ मागिन् ।

नरबहादुर विष्ट : ‘सुशासनको नाममा मनपरी नगर्नू’
राष्ट्रियसभामा नेकपाका सांसद नरबहादुर विष्टले सुशासनको नाममा राज्यबाट मनपरी हुन नहुने धारणा राखे ।

उनले भने, “सुशासनका नाममा जथाभाबी गर्न खोजियो भने त्यसको प्रतिवाद सडकबाट हुनेछ ।”

सरकारको जवाफ : ‘स्टन्टबाजी गर्न सरकारमा आएका होइनौँ’
संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले सरकार घटना भएको पहिलो क्षणदेखि नै सक्रिय रहेको दाबी गरे । उनले गृह मन्त्रालयले घटनालगत्तै समन्वय गर्दै अस्पतालमा उपचार व्यवस्थापन र आवश्यक निर्णयका लागि काम गरेको बताए ।

विपक्षी सांसदहरूले सरकारमाथि लगाएका आरोपप्रति प्रतिक्रिया जनाउँदै उनले घटनास्थल र अस्पतालमा पुगेर पीडितको अवस्था बुझ्ने काम सरकारका तर्फबाट गरिएको उल्लेख गरे।

सदनमा उनले विपक्षी सांसदहरूलाई लक्षित गर्दै प्रश्न गरे, “कति जना हुनुहुन्थ्यो हिजो अस्पतालमा ? घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन, हातले गर्नुपर्छ, ठाउँमा गएर गर्नुपर्छ ।”

विपक्षीले सरकारको सक्रियतालाई ‘स्टन्टबाजी’ भनेकोप्रति असन्तुष्टि जनाउँदै उनले थपे,

“मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन । म आफ्नो देशको सेवा गर्न आएको हो ।”

गृहमन्त्री गुरुङले सरकारले घटनाको अनुसन्धान निष्पक्ष रूपमा अघि बढाइरहेको र सत्य तथ्यका आधारमा आवश्यक निर्णय लिइने बताए ।

विचार फरक, तर केही साझा माग
संसदमा व्यक्त विचारहरू राजनीतिक रूपमा फरक-फरक थिए । कसैले सरकारको कार्यशैलीको आलोचना गरे, कसैले राज्यको नीतिमाथि प्रश्न उठाए, कसैले प्रशासनिक संवेदनशीलताको विषयलाई जोड दिए भने सरकारले आफ्नो सक्रियता र जिम्मेवारीको बचाउ गर्‍यो ।

तर अधिकांश अभिव्यक्तिमा केही साझा विषय दोहोरिए–घटनाको निष्पक्ष छानबिन, जिम्मेवारी निर्धारण, पीडित परिवारलाई राहत तथा यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधार ।

यससँगै सार्वजनिक स्थानको व्यवस्थापन, पार्किङ नीति, जरिवाना प्रणाली, नगर प्रहरीको कार्यशैली, राइड–सेयरिङको नियमन र नागरिकसँग राज्यको व्यवहारबारे पनि व्यापक बहस सुरु भएको देखियो ।

घटनाभन्दा ठूलो बहस : कानुन, कार्यान्वयन, सार्वजनिक सेवा र नागरिक-राज्य सम्बन्धबारे उठेका प्रश्न
गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य अनुसन्धानबाटै स्थापित हुनेछ । घटनामा कसको जिम्मेवारी कहाँसम्म पुग्छ, कानुनी रूपमा को उत्तरदायी ठहरिन्छ, नगर प्रहरीको भूमिका कस्तो रह्यो, उद्धार प्रक्रिया पर्याप्त थियो वा थिएन भन्ने विषय सम्बन्धित निकायको अनुसन्धान र त्यसपछिको कानुनी प्रक्रियाले निर्धारण गर्नेछ ।

तर अनुसन्धानको निष्कर्ष आउन बाँकी रहँदै गर्दा पनि यो घटनाले एउटा गम्भीर प्रश्न भने उठाएको छ–एउटा सामान्य प्रशासनिक विवाद कसरी केही घण्टामै आत्मदाह र त्यसपछि मृत्युमा परिणत भयो ?

यो प्रश्नको उत्तर कुनै एक व्यक्ति, एक निकाय वा एउटै घटनाक्रममा मात्र सीमित छैन । बरु यसले कानुन, सार्वजनिक प्रशासन, शहरी व्यवस्थापन, सेवा प्रवाह, नागरिकको चेतना, सरकारी अधिकारीहरूको व्यवहार राज्यको संवेदनशीलता र सार्वजनिक पूर्वाधारसम्म फैलिएको बहसलाई जन्म दिएको छ ।

कानुनको उद्देश्य केवल नियन्त्रण होइन
हरेक राज्यमा कानुनको मूल उद्देश्य सार्वजनिक व्यवस्था कायम गर्नु, नागरिकको सुरक्षा सुनिश्चित गर्नु र सबैलाई समान नियमभित्र राख्नु हो ।

सडक पार्किङ व्यवस्थापन, ट्राफिक अनुशासन वा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि नियम हुनु स्वाभाविक हो । ती नियमको पालना गराउनु राज्यको दायित्व पनि हो ।

तर सार्वजनिक प्रशासनका विज्ञहरू लामो समयदेखि अर्को विषयमा पनि जोड दिँदै आएका छन् –कानुनको प्रभावकारिता त्यसको कठोरताले मात्रै होइन, कार्यान्वयनको संवेदनशीलता, पारदर्शिता र नागरिकमैत्री अभ्यासले पनि निर्धारण गर्छ ।

गणेश नेपालीको मृत्यु प्रकरणपछि यही प्रश्न पुनः सार्वजनिक बहसको केन्द्रमा आएको छ ।

पूर्वाधार पर्याप्त नभई कडाइ मात्रै पर्याप्त हुन्छ ?
काठमाडौँ उपत्यकाका अधिकांश सरकारी कार्यालय, अस्पताल, अदालत, मालपोत, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयदेखि राहदानी विभागसम्म दैनिक हजारौँ सेवाग्राही पुग्ने स्थान हुन् ।

तर तीमध्ये धेरै कार्यालयमा सेवाग्राहीको चापअनुसार पार्किङ सुविधा, सूचना प्रणाली वा आगन्तुक व्यवस्थापन पर्याप्त नभएको गुनासो विगतदेखि नै सुनिँदै आएको छ ।

यस्तो अवस्थामा अव्यवस्थित पार्किङ नियन्त्रण गर्नु आवश्यक भए पनि नागरिकलाई व्यवहारिक विकल्प उपलब्ध गराउने विषय पनि उत्तिकै महत्वपूर्ण हुने प्रशासनिक क्षेत्रका जानकारहरूको भनाइ छ ।

यस घटनाले सार्वजनिक सेवासँग जोडिएका कार्यालयमा पूर्वाधार विकास र सेवा व्यवस्थापनलाई सँगसँगै अघि बढाउनुपर्ने प्रश्नलाई पनि पुनः अगाडि ल्याएको छ ।

जरिवाना प्रणाली र अनुपातिकताको बहस
घटनापछि जरिवाना प्रणालीबारे पनि व्यापक बहस सुरु भयो ।

कतिपयले कानुन उल्लंघन गरेपछि जरिवाना स्वाभाविक भएको तर्क गरे भने अर्कोतर्फ जरिवानाको दर, त्यसको आनुपातिकता, कार्यान्वयनको शैली र नागरिकसँगको व्यवहारबारे पुनरावलोकन आवश्यक रहेको धारणा पनि व्यक्त भयो ।

यससँगै नियम उल्लंघन रोक्ने उपाय केवल दण्डमा केन्द्रित हुने कि नागरिकलाई सचेत बनाउने, वैकल्पिक व्यवस्था गर्ने र संवाद बढाउने दिशामा पनि राज्यले ध्यान दिनुपर्ने हो भन्ने प्रश्न उठ्यो ।

नगर प्रहरीको भूमिकाबारे पनि बहस
घटनापछि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको कार्यशैली पनि सार्वजनिक बहसको विषय बन्यो । नगर प्रहरी सार्वजनिक सम्पत्ति संरक्षण, पार्किङ व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण र स्थानीय कानुन कार्यान्वयनका लागि परिचालित निकाय हो । उनी हले आफ्नो अधिकार कति कानुनभित्र रहेर गरेका छन् भन्ने मात्रै होइन, नागरिकमैत्री व्यवहार गरेका छन् कि छैन भन्ने प्रश्न पनि जोडतोडका साथ उठ्दै आएको छ । 

तर कानुन कार्यान्वयनसँगै तनावपूर्ण अवस्थाको व्यवस्थापन, नागरिकसँगको संवाद, विवाद समाधान र मानवीय व्यवहारसम्बन्धी क्षमता पनि यस्ता निकायका लागि उत्तिकै आवश्यक हुने प्रशासनविद्हरू बताउँछन् ।

अर्कोतर्फ, नागरिकले पनि सार्वजनिक नियमको पालना गर्नु, सुरक्षाकर्मी तथा सार्वजनिक पदाधिकारीसँग मर्यादित व्यवहार गर्नु र विवादलाई कानुनी तथा शान्तिपूर्ण माध्यमबाट समाधान खोज्नु लोकतान्त्रिक समाजको आधारभूत दायित्व भएको सुरक्षा प्रशासनका अधिकारीहरूको भनाइ छ ।

राइड-सेयरिङ क्षेत्रको नीतिगत अन्योल
माईतीघरमा भएको प्रदर्शनमा राइड-सेयरिङ सेवामा आबद्ध चालकहरूले उठाएको अर्को प्रमुख विषय नीतिगत स्पष्टता थियो ।

उनीहरूको भनाइमा राइड-सेयरिङ सेवा विस्तार हुँदै गए पनि त्यसलाई नियमन गर्ने स्पष्ट कानुनी व्यवस्था, सामाजिक सुरक्षा, बीमा, वैज्ञानिक भाडादर र श्रमिक अधिकारका विषय अझै पूर्ण रूपमा संस्थागत हुन सकेका छैनन् ।

यातायात व्यवस्थापन, डिजिटल प्लेटफर्म र श्रम नीतिबीचको समन्वय अझै चुनौतीपूर्ण देखिएकाले यस क्षेत्रमा स्पष्ट नीतिगत ढाँचा आवश्यक रहेको माग उनीहरूले दोहोर्‍याएका छन् ।

राज्य र नागरिकबीचको विश्वास पनि प्रश्नमा
यो घटनाले अर्को एउटा महत्वपूर्ण पक्ष पनि उजागर गरेको छ-राज्य र नागरिकबीचको विश्वास ।

लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकले राज्यबाट कानुनको समान कार्यान्वयनसँगै सम्मानजनक, पारदर्शी र संवेदनशील व्यवहारको अपेक्षा गर्छन् ।

त्यसैगरी राज्यले पनि नागरिकबाट कानुनको पालना, सार्वजनिक अनुशासन र सहकार्यको अपेक्षा राख्छ ।

यी दुई पक्षबीच संवाद कमजोर हुँदा सामान्य प्रशासनिक विवाद पनि ठूलो सामाजिक तनावमा रूपान्तरण हुन सक्ने जोखिम बढ्ने सार्वजनिक प्रशासनका अध्येताहरू बताउँछन् ।

अनुसन्धानले उत्तर दिनुपर्ने प्रश्नहरू
घटनापछि धेरै प्रश्न सार्वजनिक रूपमा उठेका छन् । घटनास्थलमा वास्तवमा के-के भयो ?

विवादको प्रकृति कस्तो थियो ? सबै सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गरे वा गरेनन् ? उद्धार प्रक्रिया पर्याप्त थियो कि थिएन ? उपचार कस्तो रह्यो ? भविष्यमा यस्ता घटना रोक्न के–कस्ता नीतिगत सुधार आवश्यक छन् ? यी प्रश्नहरूको उत्तर अनुसन्धान, प्रमाण र कानुनी प्रक्रियाबाटै आउनेछन् ।

त्यसैले अनुसन्धान पूरा नहुँदै कुनै व्यक्ति वा संस्थालाई दोषी वा निर्दोष ठहर गर्नु उपयुक्त हुँदैन ।

घटनाले दिएको सन्देश
गणेश नेपालीको मृत्यु एउटा परिवारका लागि अपूरणीय क्षति हो । तर यसले राज्यका सबै तहका निकायलाई पनि केही गम्भीर प्रश्न सोधेको छ ।

सार्वजनिक सेवामा आउने नागरिकलाई राज्यले कस्तो अनुभव दिइरहेको छ ? कानुन कार्यान्वयनको शैली कति मानवीय छ ? सार्वजनिक पूर्वाधार नागरिकको आवश्यकताअनुसार विकास भएको छ कि छैन ? तनावपूर्ण अवस्थाको व्यवस्थापनका लागि प्रशासनिक संयन्त्र पर्याप्त रूपमा तयार छन् कि छैनन् ? र नागरिकमा कानुनी चेतना अभिवृद्धि गर्न राज्यले कति लगानी गरेको छ ?

यी प्रश्नको उत्तर खोज्नु कुनै एक मन्त्रालय, स्थानीय तह वा सुरक्षा निकायको मात्रै दायित्व होइन । संघ, प्रदेश, स्थानीय सरकार, नीति निर्माता, सुरक्षा निकाय र स्वयं नागरिक सबैको साझा जिम्मेवारी हो ।

निष्कर्ष :सुधारको दिशामा बहस आवश्यक
गणेश नेपाली मृत्यु प्रकरणको अन्तिम निष्कर्ष अनुसन्धान र न्यायिक प्रक्रियाले नै दिनेछ । तर एउटा सामान्य प्रशासनिक विवाद केही घण्टामै आत्मदाह र त्यसपछि मृत्युमा परिणत हुनु आफैँमा सार्वजनिक प्रशासनका लागि गम्भीर आत्म समीक्षाको विषय बनेको छ ।

यो घटनाले कानुनको आवश्यकता होइन, कानुनको मानवीय र नागरिकमैत्री कार्यान्वयन; नियन्त्रण होइन, संवाद र विश्वास; केवल जरिवाना होइन, पर्याप्त सार्वजनिक पूर्वाधार र अधिकारसँगै नागरिकको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहेको सन्देश दिएको छ ।

राज्यको दायित्व कानुन बनाउनु मात्र होइन, त्यसलाई न्यायपूर्ण, पारदर्शी र संवेदनशील ढंगले कार्यान्वयन गर्नु पनि हो । त्यसैगरी नागरिकको दायित्व पनि कानुनको सम्मान गर्दै सार्वजनिक अनुशासनको पालना गर्नु हो ।

सायद यही कारणले गणेश नेपालीको मृत्यु प्रकरणलाई एउटा दु:खद् घटनामा मात्र सीमित राखेर हेर्नु पर्याप्त हुँदैन । यसले सार्वजनिक प्रशासन, सेवा प्रवाह, अधिकारीहरूको व्यवहार, कानुन कार्यान्वयन, शहरी पूर्वाधार, सामाजिक सुरक्षा, श्रम नीतिको प्रभावकारिता र नागरिक–राज्य सम्बन्धबारे समग्र रूपमा पुनरावलोकन गर्ने अवसर पनि दिएको छ।

यस्ता घटनाको पुनरावृत्ति रोक्न दोषीको खोजी मात्रै पर्याप्त हुँदैन; कानुन, कार्यशैली, सार्वजनिक पूर्वाधार, सेवा संस्कार र नागरिक चेतनाको समानान्तर सुधारतर्फ राज्य र समाज दुवै अघि बढ्नुपर्ने आवश्यकता यो घटनाले स्पष्ट रूपमा औँल्याएको छ । 

Leave a Reply