सुनसरी । सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।
चालु आर्थिक वर्षको असार २४ गतेसम्म सञ्चालन भएका ६६५ समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजार ३९० नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
सोही अवधिमा अपराध अनुसन्धान, शान्ति सुरक्षा, फैसला कार्यान्वयन, विपद् व्यवस्थापन, उजुरी फर्छ्यौट तथा प्रविधिमैत्री सेवा प्रवाह पनि प्रभावकारी रूपमा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख केशवकुमार थेबेले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत अपराध नियन्त्रण, चेतना अभिवृद्धि तथा प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन सफलता मिलेको बताए ।
लागुऔषध ओसारपसार नियन्त्रण, ‘साइबर’ अपराध, घरेलु तथा लैङ्गिक हिंसा नियन्त्रण, मानव बेचबिखन, बालविवाह तथा बाल यौन दुर्व्यवहारविरुद्ध ७२ विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमबाट चार हजार १८५ विद्यार्थी लाभान्वित भएका छन् ।
सो अवधिमा रु. तीन करोड ४८ लाख ९१ हजार ५११ राजस्व सङ्कलन गरिएको छ । नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार नियन्त्रणबाट रु. आठ लाख ४४ हजार ९०० राजस्व असुली गरिएको छ । सवारी नियम पालना नगर्ने सवारी चालकबाट रु. तीन करोड ५७ लाख ३६ हजार ४११ राजस्व सङ्कलन भएको बताए ।
यसैगरी, प्रशासनसमक्ष परेका उजुरीमध्ये चार हजार २६८ चार हजार १२४ वटा निरूपण गरिएको छ । फरार रहेका ६७१ प्रतिवादीमध्ये चार सय ८० जनालाई पक्राउ गरी अदालतको निर्णय कार्यान्वयन भएको छ ।







