एजेन्सी । क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घटनामा संलग्न आशंकित आक्रमणकारी अझै फरार छन् ।
टोरन्टो प्रहरीले घटनास्थलमा गोली लागेको अवस्थामा छ जना भेटिएको जनाएको छ । तीमध्ये दुई जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो । घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
प्रहरीले घटनास्थल वरपरको क्षेत्र घेराबन्दी गरी व्यापक अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार गोलीकाण्ड सेन्ट क्लेर एभिन्यूमा सञ्चालन भइरहेको साल्सा महोत्सवका क्रममा भएको हो ।
ओन्टारियोका प्रिमियर डग फोर्डले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई ‘अर्थहीन हिंसा’को सङ्ज्ञा दिएका छन् । उनले घटनामा दुई जनाको ज्यान गएको र अन्य व्यक्ति घाइते भएको उल्लेख गरे ।
यो घटना गत महिनाको अन्त्यतिर मन्ट्रियलमा भएको गोलीकाण्डको केही समयपछि भएको हो । उक्त घटनामा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीको कारबाहीमा आक्रमणकारी मारिएका थिए ।
यसअघि फेब्रुअरीमा क्यानडाको पश्चिमी खानी सहर टम्बलर रिजस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु भएको थियो । उक्त घटनामा आक्रमणकारीले आफ्नी आमा र सौतेनी भाइको हत्या गरेकी थिइन् भने २७ जना घाइते भएका थिए । त्यसपछि उनले आत्महत्या गरेकी थिइन् ।







