चितवन । नारायणगढ-मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको छ ।
सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारण साँझ ७ बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो । ती सबै स्थानमा झरेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरे जानकारी दिए। सडकमा खसेको पहिरो पन्छाउन राति नै दुई वटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो ।
इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सो सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुईन खोलामा पहिरोबाट सडक अवरुद्ध भएको थियो । त्यसमध्ये सेतीदोभान पूर्णरुपमा सडक दुईतर्फी तथा अन्य ठाउँमा एकतर्फी अवरुद्ध थियो । राति १ बजेसम्ममा गाडी सञ्चालन गर्न सक्ने गरी पहिरो हटाइए पनि केही ठाउँमा पहिरो खसेको र खस्ने जोखिम भएकाले बिहानसम्म पर्खनु परेको थियो ।
सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको समयमा सकेसम्म यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।







