काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) किरणजंग कुँवर र सुन्दर तिवारी बेलायतमा आयोजित अन्तर्राष्ट्रिय प्रहरी नेतृत्व विकास कार्यक्रममा सहभागी भई दीक्षित भएका छन्।
संयुक्त अधिराज्य (युके) स्थित कलेज अफ पोलिसिङमा सन् २०२६ फेब्रुअरी २३ देखि जुलाई १० सम्म सञ्चालन भएको कार्यकारी नेतृत्व कार्यक्रममा उनीहरूले सहभागिता जनाएका हुन्।
प्रहरी नेतृत्वको उच्च तहका अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा व्यक्तिगत तथा समावेशी नेतृत्व, संगठनात्मक नेतृत्व र प्रहरी सञ्चालनसम्बन्धी नेतृत्वका विषयमा प्रशिक्षण दिइएको थियो। साथै, प्रमाणमा आधारित संगठनात्मक सुधारका लागि आवश्यक सीप र नेतृत्व दृष्टिकोण विकासमा पनि कार्यक्रम केन्द्रित रहेको जनाइएको छ।
नेपाल प्रहरीले उक्त कार्यक्रममा सहभागिताले संस्थागत नेतृत्व क्षमता सुदृढ बनाउन, अन्तर्राष्ट्रिय प्रहरी सहकार्य विस्तार गर्न तथा जनमुखी, प्रभावकारी र प्रमाणमा आधारित प्रहरी सेवा प्रवाहलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।
कार्यक्रममा संयुक्त अधिराज्यका ५४ जना र अन्य विभिन्न मुलुकका सात जना गरी कुल ६१ जना प्रहरी अधिकृतको सहभागिता रहेको थियो।







