काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका पठाउने योजनासँग सम्बन्धित मुद्दामा पक्राउ परेका बेचन झा र प्रतीक थापा कारागारबाट मुक्त भएका छन्।
केन्द्रीय कारागार, सुन्धाराका अनुसार जिल्ला अदालत काठमाडौँको आदेशका आधारमा झा बिहीबार रिहा भएका हुन्। उनी अदालतबाट तोकिएको कैद अवधि पूरा गरिसकेपछि कारागारबाट छुटेका हुन्।
अदालतले झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तर उनी झन्डै दुई वर्षदेखि कारागारमा रहेका थिए।
यसैबीच, प्रतीक थापा भने अदालतबाट अभियोग पुष्टि हुन नसकेको ठहरसहित सफाइ पाएपछि एक साताअघि नै कारागारबाट रिहा भएका थिए।
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा रहेका प्रतीक थापा २०८१ असार १४ गते काठमाडौँबाट पक्राउ परेका थिए। अदालतको फैसलापछि उनीमाथिको अभियोग समाप्त भएको हो।







