काठमाडौँ । साउन महिनाको पहिलो दिन अर्थात् साउने संक्रान्तिका अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठुलो भीड लागेको छ ।
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको साउन महिनाको सुरुवातसँगै भगवान् शिवको पूजा-आराधना गर्न बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको हो ।
साउन महिनालाई भगवान् शिवको प्रिय महिनाका रूपमा लिइने हुनाले यस दिन पशुपतिनाथको दर्शन गर्न टाढा-टाढादेखि भक्तजनहरू पशुपति क्षेत्र पुगेका छन् ।
साउने संक्रान्तिका दिन स्नान, दान र धार्मिक अनुष्ठान गर्नाले पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । पशुपतिनाथका साथै देशका अन्य शिवालयहरूमा पनि आज भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।










