काठमाडौँ । पछिल्ला चार आर्थिक वर्षमा देशभरबाट १ हजार ४५१ जना बेवारिसे अवस्थामा फेला परेका बालबालिका सम्बन्धित निकायको सम्पर्कमा आएका छन्।
राष्ट्रिय बाल अधिकार परिषद्को तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ देखि २०८१/०८२ सम्म बेवारिसे अवस्थामा फेला परेका बालबालिकामध्ये ९१९ जना बालक र ५३२ जना बालिका रहेका छन्।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी २९७ जना बालबालिका बेवारिसे अवस्थामा फेला परेका थिए। तीमध्ये १९८ जना बालक र ९९ जना बालिका रहेका थिए।
त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ३६२ जना (२३२ बालक र १३० बालिका), २०८०/०८१ मा ३८३ जना (२४३ बालक र १४० बालिका) तथा २०८१/०८२ मा ४०९ जना (२४६ बालक र १६३ बालिका) बेवारिसे अवस्थामा फेला परेको तथ्यांकमा उल्लेख छ।
५२२ बालबालिकाको पुनर्स्थापना
बेवारिसे अवस्थामा फेला परेका बालबालिकामध्ये ९२५ जना बालबालिकालाई परिवारमा पुनर्मिलन गरिएको छ भने ५२२ जनालाई बाल गृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनर्स्थापना गरिएको छ।
परिवारमा पुनर्मिलन गरिएका बालबालिकाको संख्या चार आर्थिक वर्षमा क्रमशः १७८, २११, २३८ र २९८ जना रहेको छ।
यस्तै, बाल गृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनर्स्थापना गरिएका बालबालिकाको संख्या क्रमशः ११५, १५१, १४५ र १११ जना रहेको तथ्यांकले देखाएको छ।
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार सडक तथा सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार, संरक्षण, पारिवारिक खोजी तथा पुनर्स्थापनाको काम निरन्तर भइरहेको छ।







