काठमाडौँ । काठमाडौँ महानगरपालिका-४ स्थित कत्तार भिसा सेन्टरअगाडिको सडक खण्डमा पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ डीडी ६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०६८ प १०५६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते भएकामध्ये काठमाडौं महानगरपालिका-३ बसुन्धाराकी ६५ वर्षीया कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ । उनको टाउको र दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूमा मनमैजु बस्ने १५ वर्षीया सिवानी शाही, १० वर्षीय सुशान्त शाही, मोटरसाइकल चालक ३४ वर्षीय बिकी शाह, ट्याक्सी चालक ४१ वर्षीय ऊर्जा लामा, मोटरसाइकल चालक १८ वर्षीय निउजित शाह, ५७ वर्षीया विष्णुमाया खापुङ, २५ वर्षीया पार्वती तामाङ, पल्सर मोटरसाइकल चालक २५ वर्षीय विनोद थापा मगर तथा २२ वर्षीय जीवन राना मगर रहेका छन् । उनीहरूको अवस्था मध्यमदेखि सामान्य रहेको जनाइएको छ ।
घाइते सबैको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न सबै सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







