नेपाल-भारत पारवहन सम्झौताअनुसार कोलकाता बन्दरगाहबाट पहिलो पटक रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी सुरु भएको छ। यसले आयात लागत घटाउने, व्यापार सहजीकरण गर्ने र पूर्वी नेपालको औद्योगिक आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै रेलमार्फत विराटनगरसम्म ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। यससँगै कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको छ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले श्रावण १ गते जारी गरेको विज्ञप्तिअनुसार भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) ले ४ नोभेम्बर २०२५ मा जारी गरेको सूचना नम्बर ७३/२०२५-कस्टम्स मार्फत इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) नियमावली, २०१९ संशोधन गरी कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गर्दै विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो।
उक्त निर्णय कार्यान्वयनका लागि नेपाली महावाणिज्यदूतावासले निरन्तर समन्वय र पहल गरेपछि कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा सार्वजनिक सूचना नम्बर १३/२०२६ जारी गर्दै कोलकाता र हल्दियाबाट वीरगञ्जका अतिरिक्त जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो।
सोही व्यवस्थाअनुसार श्रावण १ गते कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो औपचारिक रेल कार्गो सेवा सञ्चालनमा आएको हो। यस अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कर) का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल कार्गो सेवाको शुभारम्भ गरेका थिए।
पहिलो ढुवानीमा भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कर) को रेल र्याकमार्फत नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको ‘क्यानोला ग्रेन-फार्मर ड्रेस्ड’ कच्चा पदार्थ बोकेका मर्स्क लाइन का ४० वटा ४० फिट क्षमताका उच्च क्षमताका कन्टेनर रहेका छन्। ती सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) जडान गरिएको महावाणिज्यदूतावासले जनाएको छ।
यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनीस्थित एकीकृत भन्सार यार्ड हुँदै एकै पटकमा ४५ वटासम्म ४० फिट क्षमताका कार्गो कन्टेनर रेलमार्फत सिधै विराटनगर पठाउन सकिनेछ। महावाणिज्य दूतावासका अनुसार रेलमार्फत हुने ढुवानी सडक मार्गको तुलनामा सुरक्षित, भरपर्दो, कम लागतको र छिटो हुने भएकाले मालसामान करिब २४ घण्टामै विराटनगर पुग्ने अपेक्षा गरिएको छ। यसबाट विभिन्न प्रकारका वस्तुको आयात प्रक्रिया थप सहज हुने विश्वास गरिएको छ।
यसअघि वीरगञ्जमा मात्र उपलब्ध रहेको रेल कार्गो सुविधा अब विराटनगरमा पनि विस्तार भएसँगै पूर्वी नेपालका उद्योग तथा व्यवसायीले कन्टेनर र थोक (बल्क) कार्गोको नियमित व्यावसायिक ढुवानी सुविधा उपयोग गर्न सक्ने भएका छन्।
महावाणिज्यदूतावासका अनुसार नयाँ व्यवस्थाले बन्दरगाहमा नेपाली आयातकर्ताले बेहोर्नुपर्ने डिमरेज शुल्क, कन्टेनर डिटेन्सन शुल्क तथा सडक ढुवानीसँग सम्बन्धित अतिरिक्त खर्च घटाउन सहयोग पुग्नेछ। साथै समग्र व्यापार पारवहन लागत (लजिस्टिक्स लागत) उल्लेखनीय रूपमा न्यूनीकरण हुने, व्यापार सहजीकरणमा टेवा पुग्ने र नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।







