हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै सिँचाइ विस्तार, माटो सुधार र स्वदेशी बीउ उत्पादनलाई प्राथमिकतामा राखेको छ ।
उपप्रमुख राजेश बानियाँले अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा तथा आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि र आयआर्जनमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए। उनका अनुसार युवा स्वरोजगार कार्यक्रममार्फत नयाँ पुस्तालाई उत्पादनमुखी कृषिसँग आबद्ध गराउने नीति लिइएको छ ।
माटोको स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत माटोको नमूना परीक्षण गरिएको छ । परीक्षणका आधारमा माटोको अम्लीयपन घटाउन ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको छ भने प्रदेश माटो तथा मल परीक्षण प्रयोगशालाको सहयोगमा ४० मेट्रिक टन चुन नि:शुल्क वितरण गरिएको उपप्रमुख बानियाँले बताए।
तरकारी तथा फलफूल उत्पादन विस्तारका लागि कृषक समूह तथा कृषि सहकारीमार्फत लिची, केरा, ड्रागन फल र एभोकाडोलगायत फलफूल खेती विस्तार गर्ने कार्यक्रम पाँच स्थानमा सञ्चालन भइरहेको जनाइएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार तथा विद्यमान सिँचाइ पूर्वाधारको मर्मतलाई पनि बजेटले प्राथमिकता दिएको छ ।
साथै आयातित तथा हाइब्रिड बीउमा बढ्दो निर्भरता घटाउन स्वदेशी खुला सेचित जातका मकै र धानको बीउ उत्पादनलाई प्रोत्साहन गरिएको छ । यसअन्तर्गत रामपुर कम्पोजिट मकै ७५० कट्ठा, मकवानपुर-१ धान १५ कट्ठा र राम धान १० कट्ठा क्षेत्रफलमा बीउ उत्पादन गरिने भएको छ ।
संघीय सरकारबाट हस्तान्तरित धान पकेट कार्यक्रमअन्तर्गत वडा नं १७ मा श्री साना किसान कृषि सहकारी संस्थामार्फत तीन सय कट्ठा क्षेत्रफलमा धान खेती कार्यक्रम सञ्चालन भइरहेको उपप्रमुख बानियाँले जानकारी दिए ।







