काठमाडौँ । विश्वकप फुटबल-२०२६ को उपाधिका लागि हुने अन्तिम प्रतिस्पर्धा सर्वसाधारण दर्शकले नि:शुल्क हेर्न पाउने व्यवस्था हिमालय टेलिभिजनले गरेको छ ।
हिमालय टेलिभिजनका साथै हिमालय स्पोर्टस् र डिगो मोबाइल एपमार्फत समेत फाइनल खेल प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।
दर्शकको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित फाइनल खेललाई खुला प्रसारणको व्यवस्था गरिएको टेलिभिजन व्यवस्थापनले जनाएको छ । यसअघि हिमालय स्पोर्टस् तथा डिगो एपको सदस्यता नलिएका प्रयोगकर्ताले पनि यस खेलको प्रत्यक्ष प्रसारण नि:शुल्क हेर्न सक्नेछन् ।
नेपाली समयअनुसार आइतबार राति १२ बजेर ४५ मिनेटमा हुने फाइनल खेलमा अर्जेन्टिना र स्पेनबीच विश्वकप उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।
फाइनल खेललाई लक्षित गर्दै गरिएको यो व्यवस्थाले सदस्यता बाहिर रहेका दर्शकलाई समेत विश्वकपको निर्णायक क्षणमा पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ ।







