चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु. २६ अर्ब ८३ करोड पाँच लाख राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व संकलन भएको हो ।
कार्यालयले अघिल्लो आवमा रु. २५ अर्ब नौ करोड सात लाख राजस्व संकलन गरेको थियो । गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार गत वर्ष आन्तरिक राजस्व विभागले रु. ३१ अर्ब पाँच करोड लक्ष्य दिएको थियो । अघिल्लो आवमा लक्ष्य रु. २६ अर्ब ६० करोड रहेको थियो । गत वर्ष यहाँको एउटा मदिरा उद्योग बन्द हुँदा ठूलो राजस्व गुमेको छ । सो उद्योगले अघिल्लो आवमा रु. एक अर्ब राजस्व भुक्तानी गरेको थियो ।
खड्काका अनुसार गत वर्ष मदिराजन्य वस्तुको अन्त:शुल्क नबढेको, कतिपय प्लास्टिकका बोतललगायतमा अन्त:शुल्क हटेको, बढी अन्त:शुल्क तिर्ने कोकाकोलाको खपत घटेकोलगायतका कारणले राजस्वको लक्ष्यमा पुग्न नसकेको हो । त्यसै गरी, पूर्ण कर परीक्षणका विषयमा सरकारले नरम नीति लिएर भदौ २३ अघि पत्र जारी भएका र चार वर्ष म्याद पुगेकाको मात्र परीक्षण गरिएको उनले जानकारी दिए । अन्यको हकमा हालका लागि स्थगित गरिएको थियो । हरेक वर्ष कर छुट पाइन्छ भन्ने मानसिकताका कारण पनि समयमा बक्यौता नतिर्दा राजस्व संकलनमा कमी भएको उनले बताए ।
कार्यालयले अग्रिम करकट्टी ४९ वटा करदाताको गरेको, १९७ वटा बजार अनुगमन गरेको, २४ वटा करदाता शिक्षा कार्यक्रम गरेको थियो । करदाता शिक्षाले मूल्य अभिवृद्धि करतर्फ रु. ५६ करोड ५० लाख बक्यौता संकलन भएको थियो । जुन लक्ष्यको १९८ प्रतिशत हो । आयकर भने रु. पाँच करोड ४१ लाख मात्र संकलन भयो । यो १३ प्रतिशत मात्र हो । रु. ४१ करोड बक्यौता आयात करमा उठाउने लक्ष्य कार्यालयको थियो । रु. २१ करोड ४५ लाख बेरुजु फर्छ्योट गरिएको उनले जानकारी दिए । कार्यालयमा हाल ७४ हजार करदाता रहेका छन् ।
कार्यालयबाहेक जिल्लाका छ पालिकामा पनि करदाता सेवा दिने गरिएको छ । भरतपुर महानगरपालिकाबाहेकका पालिकाहरूले पान नम्बर वितरण, विवरण संशोधन, दर्ता खारेजी निवेदन, मूल्य अभिवृद्धि करको निवेदन दर्तालगायतका राजस्व संकलनसँग सम्बन्धित काम गर्दछन् ।







