काठमाडौँ। लगातार छ कारोबार दिन बढेको नेपालको सेयर बजार बुधबार ओरालो लागेको छ। नेप्से परिसूचक १३.९५ अंकले घटेर २ हजार ७१२ अंकमा सीमित भएको छ।
कारोबार अवधिभर बजार दबाबमा देखिएको थियो। दिउँसो १२ बजेर ५४ मिनेटमा नेप्से २ हजार ६९४ अंकसम्म झरेको थियो, जुन बुधबारको न्यूनतम विन्दु रहेको छ।
गत साताको मंगलबारदेखि मंगलबारसम्म लगातार उकालो लागेको बजारमा बुधबार भने लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि सामान्य गिरावट आएको हो।
बुधबार कारोबार भएका कम्पनीमध्ये ७७ वटाको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
यस दिन कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।







