काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल सदस्यता प्रणालीको विस्तारसँगै नेपाली कांग्रेस सदस्य सङ्ख्याका आधारमा देशकै सबैभन्दा ठूलो राजनीतिक दल बन्ने दाबी गरेका छन्।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले पार्टीले निर्माण गरेको डिजिटल सञ्जालमार्फत केन्द्रीय तहबाट प्रवाह गरिने सूचना प्रत्यक्ष रूपमा सदस्यसम्म पुग्ने व्यवस्था विकसित गरिएको बताए।
उनका अनुसार यस प्रणाली सञ्चालनमा आएपछि सदस्यहरूलाई सूचना प्रवाह गर्न परम्परागत प्रचार-प्रसारका माध्यममा निर्भर रहनुपर्ने अवस्था अन्त्य हुनेछ। डिजिटल प्लेटफर्ममा सूचना प्रविष्ट गरेपछि त्यो स्वचालित रूपमा सम्पूर्ण सदस्यसम्म पुग्ने उनले उल्लेख गरे।
महामन्त्री पौडेलले नेपाली कांग्रेस आफ्ना सबै सदस्यलाई एउटै डिजिटल नेटवर्कमा आबद्ध गराउने पहिलो राजनीतिक दल बन्ने दाबी पनि गरे। उनले यस्तो प्रणालीले संगठनात्मक समन्वय, नेतृत्व र सदस्यबीचको सम्पर्क तथा सूचना आदान-प्रदानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
उनले डिजिटल प्रणालीले संगठनलाई आधुनिक, व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै सदस्य र नेतृत्वबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा पार्टी सञ्चालनलाई थप सहज बनाउने धारणा राखे।







