काठमाडौँ । महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक व्यवस्थापन प्रहरीको मात्र नभई आम नागरिकको पनि साझा जिम्मेवारी भएको बताएका हुन् ।
हमालले समयसँगै सवारी साधनको सङ्ख्यामा अत्यधिक वृद्धि भए पनि सोही अनुपातमा भौतिक पूर्वाधारको विकास हुन नसकेको प्रति चासो व्यक्त गरे ।
समयसापेक्ष पूर्वाधार निर्माण र आधुनिक प्रविधिको प्रयोग गर्न सके सडक व्यवस्थापन अझ बढी व्यवस्थित र सुचारु हुने उनको भनाइ छ । ट्राफिक प्रहरीको कार्यकुशलताको कदर गर्दै उनले नागरिकहरूले पनि आफ्नो जिम्मेवारी उत्तिकै गम्भीरताका साथ वहन गर्नुपर्ने बताए ।
सडकमा देखिने अत्यधिक हतारो र ‘छाडा’ प्रवृत्तिको चर्चा गर्दै हमालले सवारी चालक र पैदल यात्रीको मनोविज्ञानमा परिवर्तन आउनु जरुरी रहेको बताए। उनले सबैले एकै पटक हतार गर्दा सडक झन् भद्रगोल हुने र जाम बढ्ने यथार्थलाई बुझेर पहिला म नभई पहिला तिमी भन्ने संस्कार जरुरी रहेको बताए। सडक विस्तार मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै उनले चुस्त व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । कतिपय विकसित मुलुकमा नेपालको भन्दा साँघुरा सडक भए पनि प्रभावकारी व्यवस्थापनका कारण सवारी आवागमन सहज रहेको उदाहरण दिँदै हमालले काठमाडौँको सन्दर्भमा म्यानेजमेन्टलाई दुरुस्त बनाउन सुझाव दिए ।
हमालले भने, ‘समयसँगै सवारीसाधनको चाप अत्यधिक बढेको छ । मोटरसाइकल तथा अन्य सवारीसाधनको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । तर त्यसअनुसार सडक तथा अन्य पूर्वाधार निर्माण हुन नसक्दा व्यवस्थापनमा चुनौती देखिएको छ । त्यसैले समयसापेक्ष पूर्वाधार विकास र आधुनिक प्रविधिको प्रयोग गर्न सकिए सडक व्यवस्थापन अझ प्रभावकारी बन्ने थियो । ट्राफिक प्रहरीहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनु भएकोमा म उहाँहरूको प्रशंसा गर्न चाहन्छु । तर ट्राफिक व्यवस्थापन सफल बनाउन प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन । प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्छ । नागरिक र ट्राफिक प्रहरीबीचको सहकार्यबाट मात्रै ट्राफिक व्यवस्थापन सुचारु रूपमा सञ्चालन हुनसक्छ । त्यसैले नागरिकहरूलाई नियम पालना गर्न र ट्राफिक प्रहरीलाई नियम-कानून प्रभावकारी ढंगले बुझाएर कार्यान्वयन गराउन म अनुरोध गर्न चाहन्छु । आज मेट्रो ट्राफिक एफएमको यस कार्यक्रममा नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच राम्रो समन्वय कायम होस् भन्ने शुभकामना व्यक्त गर्दछु । हामी सडकमा प्राय: सबैलाई हतारमा देख्छौँ । यदि पहिला म भन्ने सोचको सट्टा पहिला तपाईँ भन्ने संस्कार विकास गर्न सक्यौँ भने ट्राफिक व्यवस्थापन धेरै सहज हुनसक्छ । यो केवल अर्को व्यक्तिलाई प्राथमिकता दिने कुरा होइन, पालो सबैको आउँछ । सबैले एकै पटक अघि बढ्न खोज्दा जाम बढ्छ, तर पालमा नेपालभन्दा साँघुरा सडकमा पनि सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् । यसको मुख्य कारण प्रभावकारी व्यवस्थापन हो । त्यसैले ट्राफिक व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सक्षमैपालो अघि बढ्दा सडक स्वतः व्यवस्थित हुन्छ । सडक व्यवस्थापनका लागि सडक चौडा बनाउनु मात्र समाधान होइन । विश्वका धेरै देशमा नेपालभन्दा साँघुरा सडकमा पनि सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् । यसको मुख्य कारण प्रभावकारी व्यवस्थापन हो । त्यसैले ट्राफिक व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सक्षम र चुस्त व्यवस्थापन नै हो ।सडक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन, यो हामी सबैको साझा दायित्व हो । सबै सरोकारवाला मिलेर नियम पालना गर्दै जिम्मेवार ढंगले सवारी चलाउन सके काठमाडौँसहित देशभरको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी बन्न सक्छ । यसबाट ट्राफिक प्रहरी मात्र होइन, सडक प्रयोग गर्ने सबै नागरिक लाभान्वित हुन्छन् । नियमको पालना सबैका लागि विन-विन अवस्था हो ।’
ट्राफिक नियमको पालना गर्नु सबैको हितमा रहेको बताउँदै उनले यसलाई ‘विन-विन सिचुएसन’ (दुवै पक्षको जित) का रूपमा व्याख्या गर्नुभयो । नियम पालना गर्दा नागरिक र प्रहरी दुवैको समय बचत हुने र सुरक्षा सुनिश्चित हुने उनको तर्क छ ।
समाजका हरेक तह र तप्काले हातेमालो गरेर मात्र काठमाडौँको ट्राफिक व्यवस्थापनलाई सही दिशा दिन सकिने भन्दै उनले सबै सरोकारवालालाई मर्यादित हुन आग्रह गरे ।






