काठमाडौँ । रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरीका अनुसार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०-४५ वर्षीया रेनुदेवी जयसवालमाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका-८ इटहर बेलाही टोल स्थायी घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा बसोबास गर्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारमाथि आक्रमण गरेको आरोप छ।
घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।






