मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका-०५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ४:०० बजे मुगम कार्मारोङ गाउँपालिका-०५ पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका-१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमा खसेको थियो ।
पहिरोले च्यापिएका ३ वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थिए । बिहान ४:४८ बजे उनलाई पुलु स्वास्थ्य चौकी पुर्याइए पनि उपचारकै क्रममा बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा जगनाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
पहिरोले उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । साथै, थप क्षति हुन सक्ने जोखिमका कारण आसपासका आठ घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।






