वीरगञ्ज । चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका-३० बस्ने २८ वर्षीय आकाश यादव रहेका छन्।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको फैसला कार्यान्वयन टोलीले साउन ९ गते दिउँसो १२:३० बजेको समयमा यादवलाई वीरगञ्ज महानगरपालिका वडा नं. १९ विन्दवासिनी स्थित सडक खण्डबाट नियन्त्रणमा लिएको हो।
चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतको २०८१ साल १२ महिना २२ गतेको फैसलाले यादवलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी चक्र बहादुर मल्लले जानकारी दिए ।






