काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले डा. गोविन्द केसीले गेटामा सुरु गरेको सत्याग्रह स्वास्थ्य विज्ञान विश्वविद्यालयको संस्थागत विकास र सुदृढीकरणसँग सम्बन्धित रहेको बताएका छन्।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका पौडेलले आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गेटा अस्पताललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनु नै दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको आधारभूत आवश्यकता भएको उल्लेख गरेका हुन्।
उनका अनुसार अस्पताल सञ्चालनको मागसहित भइरहेको सत्याग्रहलाई विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता विस्तार र सेवा सञ्चालनसँग जोडेर हेर्नुपर्ने हुन्छ। तर विभिन्न कारण देखाउँदै अस्पताल सञ्चालन प्रक्रियामा अवरोध सिर्जना भइरहेको उनको भनाइ छ।
पौडेलले विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई तत्काल कम्तीमा ३०० शय्याको क्षमतामा विस्तार गरी सेवा सुरु गर्नुपर्नेमा जोड दिएका छन्। प्रदेश सरकारले यसअघि स्वीकृति दिएको सेती प्रादेशिक अस्पताललाई समायोजन गरी स्वास्थ्य मन्त्रालयअन्तर्गतको जनशक्ति परिचालन गर्न सके कम लागतमा आवश्यक संरचना तयार गर्न सकिने उनको तर्क छ।
आफू स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका बेला गेटा अस्पताल सञ्चालन र एमबीबीएस अध्ययन कार्यक्रम सुरु गर्ने उद्देश्यसहित बजेटमार्फत स्रोत सुनिश्चित गरिएको उनले स्मरण गरेका छन्। त्यस समयमा पनि केही पक्षले वास्तविक अवस्थाबारे पर्याप्त जानकारी नलिई विरोध गरेको भए पनि अस्पतालको क्षमता वृद्धि र शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयारी अघि बढाइएको उनको भनाइ छ।
गेटा अस्पताललाई तत्काल स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै व्यावहारिक समाधान भएको पौडेलले बताएका छन्। अस्पताल सञ्चालनबिना विश्वविद्यालयको उद्देश्य पूरा नहुने र एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम अघि बढाउन कठिन हुने उनको धारणा छ।






