काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डीङ गरिरहेको छ ।
नामिबियाविरूद्ध टस जितेको नेपालले फिल्डिङ रोजेको छ। खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ।
स्पिनर ललित राजवंशी बाहिरिएका छन् भने ब्याटर भीम सार्कीलाई स्थान दिइएको छ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, इशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने छन् ।
नेदरल्यान्ड्सको उत्रेथमा जारी यस सिरिजमा नेपालको प्रदर्शन हालसम्म सन्तोषजनक हुन सकेको छैन।
नेपालले आफ्ना सुरुवाती दुई खेलमा घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग पराजय भोगिसकेको छ। मुख्य बलरको चोटले गर्दा अबका खेलहरूमा नेपाललाई थप चुनौती थपिएको छ।
तालिका अनुसार नेपालले बुधबार अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ।






