काठमाडौँ । चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर(करिडोर सडक खण्डमा ट्रक दुर्घटना हुँदा आगलागी भई चालकको मृत्यु भएको छ।
विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको जिल्ला प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रकको अगाडिको भागमा लागेको आगोमा परी भोजपुरका ३० वर्षीय चालक विशाल राईको मृत्यु भएको हो । उनी ट्रकबाट बाहिर निस्कन सफल भए पनि जलेर गम्भीर घाइते भएका कारण ज्यान गुमाएका हुन्। ट्रकका सह-चालक १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन्।
घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटना र आगलागीको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।






