काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र आधुनिक स्वरूपलाई सम्बोधन गर्न नेपाल प्रहरीले साइबर ब्युरो अन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको प्रस्ताव अगाडि बढाएको बताएका छन् ।
मंगलवार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले उक्त जानकारी दिएका हुन् । महानिरीक्षक कार्कीले पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरित भई डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र ‘फोस्र्ड क्रिमिन्यालिटी’का रूपमा देखा परेको बताए । उनले आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश पुर्याउने र त्यहाँ बन्धक बनाई अनलाइन ठगी तथा साइबर अपराधमा संलग्न गराउने नयाँ प्रवृत्ति बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गरे ।
पछिल्लो तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ५ सय ३० वटा मुद्दा दर्ता भएका छन् । कुल ७१० जना पीडितमध्ये ८६ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । दक्षिण पूर्वी एशिया र भारतबाट गरिएका उद्धार अभियानमा ८७ प्रतिशत महिला तथा बालबालिका नै रहेका छन् । यद्यपि, पुरुष पीडितको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार दक्षिण एशियामा मानव बेचबिखनबाट प्रभावित मुलुकहरूमध्ये नेपाल शीर्ष चारभित्र पर्ने उनले जानकारी दिए ।
महानिरीक्षक कार्कीले भने, ‘पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरित भई डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र ‘फोस्र्ड क्रिमिन्यालिटी’का रूपमा देखा परेको छ । आकर्षक तलब–सुविधा भएको रोजगारीको प्रलोभनमा पारी विदेश लैजाने र बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी, साइबर स्क्याम गर्न बाध्य बनाउने नयाँ प्रवृत्ति बढेको छ । मानव बेचबिखनलाई परम्परागत दृष्टिकोणबाट मात्र होइन, साइबर अपराध, आर्थिक अपराध र सङ्गठित अन्तर्राष्ट्रिय अपराधको समग्र सन्दर्भमा हेर्नुपर्ने आवश्यकता छ ।
पछिल्ला तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ५३० वटा मुद्दा दर्ता भएकोमा कुल ७१० पीडितमध्ये ६१० जना अर्थात् झन्डै ८६ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । दक्षिण पूर्वी एसिया र भारतबाट उद्धार गरिएका २,०५२ भन्दा बढी व्यक्तिमध्ये १,७८७ अर्थात् ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार दक्षिण एशियामा मानव बेचबिखनबाट प्रभावित मुलुकहरूमध्ये नेपाल शीर्ष चारभित्र पर्छ । अहिले अधिकांश पीडितहरू अनलाइन विज्ञापन वा डिजिटल सम्पर्कमार्फत अपराधीको सम्पर्कमा आइरहेकाले स्क्याम सेन्टरबाट परिचालित गिरोहलाई पहिचान गर्न नेपाल प्रहरीले साइबर ब्युरोअन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्ने प्रस्ताव अगाडि बढाइसकेको छ । अब कसुरको अनुसन्धानसँगै पीडितको शारीरिक, मानसिक र आर्थिक क्षतिको पनि अनुसन्धान गरी क्षतिपूर्तिको मागदाबीसमेत अघि बढाइनेछ ।’
महानिरीक्षक कार्कीले अबको अनुसन्धान केवल कसुर र कसुरदार पत्ता लगाउनमा मात्र सीमित नभई पीडितको शारीरिक, मानसिक र आर्थिक क्षतिको समेत अनुसन्धान गरिने बताए । नेपालीहरू वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा छरिएको अवस्थामा उनीहरूको सुरक्षा र कानुनी सहजीकरणका लागि भारतमा जस्तै खाडी मुलुक, युरोप, अमेरिका र मलेसियामा पनि प्रहरी सहचारीको आवश्यकता रहेको उनले बताए ।






