काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले निर्वाचन प्रणाली सुधार, सुरक्षा निकायको भूमिकादेखि निर्वाचन खर्च व्यवस्थापनसम्मका विषयमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेसँग प्रश्न गरेका छन्।
संघीय संसद्को संसदीय सुनुवाइ समितिमा मंगलबार भएको वाग्लेको सुनुवाइका क्रममा सांसद खत्रीले निर्वाचन आयोगको प्रभावकारिता, संस्थागत क्षमता र निर्वाचन प्रक्रियाका चुनौतीबारे धारणा माग गरेका हुन्।
उनले निर्वाचनका समयमा सुरक्षाका लागि परिचालन हुने निकायहरू सत्तारुढ पक्षको प्रभावमा पर्ने गरेको आरोप लगाउँदै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा निर्वाचन आयोगको नियन्त्रण वा समन्वयमा परिचालन गर्न नसकिएको विषयमा प्रश्न उठाए।
सांसद खत्रीले उम्मेदवारी खारेजीसम्बन्धी आयोगका निर्णयहरू पछि अदालतबाट उल्टिने अवस्थाले राज्यलाई आर्थिक तथा प्रशासनिक भार थपिने बताए। निर्वाचन आयोगको निर्णयका कारण निर्वाचन प्रक्रिया प्रभावित भई पुनः निर्वाचन गर्नुपर्ने अवस्था आए त्यसको जिम्मेवारी र खर्च व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत उनले जिज्ञासा राखे।
त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन गरेका विभिन्न विकल्पमध्ये आगामी स्थानीय र प्रदेश निर्वाचनमा कुन प्रणाली व्यवहारिक रूपमा लागू गर्न सकिने हो भन्नेबारे उनले स्पष्टता माग गरे।
निर्वाचनमा हुने वास्तविक खर्च र दलहरूले प्रस्तुत गर्ने विवरणबीच अन्तर देखिने गरेको भन्दै सांसद खत्रीले खर्च नियन्त्रण र पारदर्शिताको विषयलाई प्रभावकारी बनाउनुपर्ने बताए।
निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता सञ्चालन गर्ने व्यवस्थाको प्रभावकारितामाथि प्रश्न उठाउँदै उनले राजनीतिक दलको चन्दा संकलन, खर्च विवरण र आर्थिक पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगसँग स्पष्ट कार्ययोजना हुनुपर्ने धारणा राखे।






