काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता डा. प्रेमप्रसाद दंगालले संवैधानिक निकायका पदाधिकारीले प्रस्तुत गर्ने कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्ने बताएका छन् ।
प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा मंगलवार आफ्नो धारणा राख्दै नेता दंगालले यस्तो बताएका हुन् । सुनुवाइ समितिको कार्यविधिअनुसार प्रस्तावित पदाधिकारीले प्रस्तुत गर्ने अवधारणा र कार्ययोजना वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिए।
उनले संवैधानिक निकायका प्रतिवेदनहरूउपर संसदीय समितिमा छलफल र समीक्षा हुने प्रक्रिया शुरु भइसकेकाले पदाधिकारीहरूको कार्यसम्पादन मूल्यांकन सोही आधारमा गरिने स्पष्ट पारे । डा। दंगालले सूचना प्रविधिको विकाससँगै निर्वाचन प्रणालीमा देखिएका नवीन चुनौतीहरूप्रति चासो व्यक्त गरे ।
प्रविधिले जीवन सहज बनाए पनि सामाजिक सञ्जाल, कृत्रिम बौद्धिकता (एआई) र अल्गोरिदमका माध्यमबाट फैलिने गलत सूचना तथा दुष्प्रचारले लोकतन्त्र र निर्वाचनको विश्वसनीयतामाथि जोखिम बढाएको उनको तर्क छ । उनले यस्ता नकारात्मक प्रवृत्तिलाई नियमन र नियन्त्रण गरी स्वच्छ तथा निष्पक्ष निर्वाचन सुनिश्चित गर्न प्रस्तावित आयुक्तसँग ठोस दृष्टिकोण माग गरे ।
डा। दंगालले भने, ‘प्रस्तावित आयुक्तको अवधारणा र प्रतिवद्धतामा ऐतिहासिक पृष्ठभूमि र महत्त्वपूर्ण सवालहरू समेटिएका छन् । तर संसदीय सुनुवाइ समितिले यस्ता कार्ययोजनालाई कसरी मापन गर्ने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । तसर्थ, कार्ययोजना केवल प्रस्तुतिमा मात्र सीमित नभई परिणाममा आधारित हुनुपर्दछ ।’
नेता दंगालले निर्वाचनमा मतदाताको न्युन उपस्थितिको विषयलाई गम्भीरताका साथ उठाए। गत निर्वाचनमा करिव ६० प्रतिशत मात्र मतदान हुनुलाई कमजोर मान्दै उनले मतदानको अनुपात बढाउनु मुख्य चुनौती रहेको बताए। सर्वोच्च अदालतको निर्देशनात्मक आदेशअनुसार विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्ने र आन्तरिक बसाइसराइ, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदान प्रक्रिया सहज बनाउने विषयमा ठोस योजना आवश्यक रहेको उनको भनाइ छ ।






