काठमाडौँ । जुत्ताको सोलभित्र लागू औषध ब्राउन सुगर लुकाएर कुरियरमार्फत काठमाडौँ पठाउन खोज्ने एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-५ निवासी २४ वर्षीय सुशान्त खड्का रहेका छन्। उनलाई लागू औषध ब्राउन सुगरजस्तो देखिने १८.४८ ग्राम खैरो पदार्थसहित प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १३ गते साँझ करिब ७ बजे विराटनगर महानगरपालिका–९ स्थित महेन्द्र चोकमा सञ्चालनमा रहेको ‘एक्स्पो एक्सप्रेस’ कुरियरमार्फत उक्त सामान काठमाडौँ पठाउन लागिएको थियो।
विराटनगर बस्ने राघव झाको नामबाट काठमाडौँ पठाउन लागिएको जुत्ताको कार्गो सामान विराटनगर विमानस्थलमा पुर्याइएको थियो। विमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले प्रस्थान कक्षमा रहेको एक्स-रे मेसिनमार्फत कार्गो जाँच गर्दा शंकास्पद वस्तु देखिएको थियो।
त्यसपछि प्रहरीले कार्गो खोलेर जाँच गर्दा जुत्ताभित्र कालो प्लास्टिकमा पोको पारेर सोलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला पारेको हो।
लागू औषध बरामद भएपछि उक्त सामान कुरियर गर्न आएका खड्कालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।






