काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट निर्वाचित पार्टीका सांसदलाई आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा पुगेर सामाजिक सद्भाव कायम राख्ने अभियानमा सक्रिय हुन निर्देशन दिएका छन्।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आकस्मिक रूपमा बोलाइएको बैठकमा सभापति लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे जानकारी गराउँदै सांसदहरूले स्थानीय तहमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसद रहवर अन्सारीले सभापति लामिछानेले सांसदहरू राजधानीमै सीमित नभई आ-आफ्नो क्षेत्रमा पुगेर सामाजिक एकता र सद्भावको सन्देश प्रवाह गर्न निर्देशन दिएको बताए।
उनका अनुसार समुदायबीच कुनै पनि प्रकारको द्वेष फैलिन नदिन तथा सामाजिक सद्भाव बिथोल्ने प्रयास भए त्यसलाई स्थानीय तहमा संवाद र समन्वयमार्फत शान्त बनाउन सांसदहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन्।
सांसद अन्सारीले सभापतिको निर्देशनअनुसार पार्टीका सांसदहरू अब आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा फर्किने तथा सरकारी संयन्त्रसँग सहकार्य गर्दै सामाजिक सद्भाव कायम राख्ने प्रयासमा जुट्ने जानकारी दिए।
उनले सुनसरीमा भएको गोलीकाण्ड र त्यसबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भावमा खलल पुग्नु सम्पूर्ण समाजका लागि साझा चुनौती भएको उल्लेख गरे। देशको एकता, शान्ति र सहअस्तित्वलाई सुदृढ बनाउन सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको धारणा पनि उनले व्यक्त गरे।






