काठमाडौँ । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव र संयम कायम राख्न नागरिक तथा सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
संयुक्त रूपमा जारी गरिएको ८ बुँदे विज्ञप्तिमा जसपा नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, जनमतका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्माले घटनाहरूको निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेका छन्।
उनीहरूले घटनाको सत्यतथ्य पहिचान गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्।
विज्ञप्तिमार्फत दलहरूले नागरिकलाई उत्तेजना र द्वेषबाट टाढा रहँदै आपसी विश्वास, सहिष्णुता र सद्भाव कायम राख्न अपिल गरेका छन्। घृणा तथा आवेगपूर्ण गतिविधिले समाजमा थप विभाजन ल्याउने भन्दै सबै पक्षलाई सत्य र कानुनी प्रक्रियाको पक्षमा उभिन आग्रह गरिएको छ।
पछिल्ला घटनाहरूको सन्दर्भमा उनीहरूले मधेस क्षेत्रलाई अस्थिर बनाउने उद्देश्यले योजनाबद्ध गतिविधि भइरहेको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्। घटनाको गम्भीरता र दीर्घकालीन प्रभावलाई ध्यान दिँदै राज्य तथा सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।







