काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-०४ छोटेबगरमा करिब तीन किलोग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट एक राउन्ड हवाई फायर गरिएको थियो ।
प्रहरी टोलीले आठविसकोट नगरपालिका-०३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका-०२ स्याला बस्ने २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी चेकजाँच गर्न खोजेको थियो ।
चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक निरज बहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणपछि गरिएको शरीर तथा झोला खानतलासीका क्रममा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद गरिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






