काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चालु मनसुन अवधिका लागि तय गरिएको पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन अवस्थाबारे समीक्षा गरेको छ ।
प्राधिकरणले शुक्रबार सिंहदरबारमा सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला संस्थाका प्रतिनिधिसँग छलफल गर्दै ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अन्तर्गत भएका कामहरूको मूल्यांकन गरेको हो ।
नेपालमा मनसुन सुरु भएको एक महिना पूरा भएको अवस्थालाई मध्यनजर गर्दै हालसम्म गरिएका तयारी, प्रतिकार्य गतिविधि र कार्ययोजनाको प्रभावकारिताबारे समीक्षा गरी आगामी व्यवस्थापन रणनीति तय गर्ने उद्देश्यले बैठक आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।
बैठकमा सहभागी विभिन्न निकायहरूले मनसुन प्रारम्भ भएयता कार्ययोजनामा समेटिएका जिम्मेवारीअनुसार सम्पन्न गरेका गतिविधि तथा प्रगतिका विवरण प्रस्तुत गरेका थिए ।
प्राधिकरणले समीक्षा बैठकबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा मनसुनसँग सम्बन्धित जोखिम न्यूनीकरण, उद्धार तथा व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने गरी आगामी योजना अघि बढाउने जनाएको छ ।






