काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत इन्जिनियर (कम्प्युटर) राकेश कुमार दासविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।
आयोगका अनुसार दासले प्रतिष्ठानको इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिने क्रममा पेस गरेका शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्रहरू अनुसन्धानबाट झुट्टा तथा नक्कली रहेको देखिएको छ ।
अनुसन्धानका क्रममा दासले भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटना अन्तर्गतको इन्टरमिडियट तह तथा भारतकै श्री वेंकटेश्वरा विश्वविद्यालय, तिरुपतिबाट प्राप्त गरेको भनिएको कम्प्युटर साइन्स विषयको ब्याचलर अफ इन्जिनियरिङको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको पाइएको आयोगले जनाएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सार्वजनिक पदमा नियुक्ति भई पदअनुसारको सुविधा तथा लाभसमेत लिएको देखिएकाले दासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको आयोगको निष्कर्ष छ ।
सोही आधारमा आयोगले दासलाई कानुनबमोजिम कैद र जरिवाना सजायको मागदाबी गर्दै २०८३ साउन १५ गते विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको छ ।






