काठमाडौँ । पदबहाली गरेलगत्तै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोगका कर्मचारीलाई आयोगको संवैधानिक दायित्व प्रभावकारी रूपमा पूरा गर्न निर्देशन दिएका छन्।
प्रमुख निर्वाचन आयुक्त कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा समावेशी निर्वाचन सञ्चालनका लागि कर्मचारीले उच्च जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताएका हुन्। उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै आयोगको विश्वसनीयता थप सुदृढ हुने गरी कार्यसम्पादन गर्न आग्रह गरेका छन्।
आयोगका अनुसार कार्कीले सूचना प्रविधिको अधिकतम प्रयोग, प्रशासनिक काममा चुस्तता, कर्मचारी आचारसंहिताको पूर्ण पालना तथा व्यावसायिक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले कर्मचारीलाई उच्च मनोबल, उत्तरदायित्व र प्रतिबद्धतासहित कार्य गर्नसमेत आग्रह गरेका छन्।
यसअघि पदबहालीपछि बसेको आयोगको पहिलो बैठकले आगामी कार्यदिशाका रूपमा निर्वाचन व्यवस्थापन सुधारका विभिन्न विषयलाई अघि बढाउने निर्णय गरेको थियो। बैठकले संसद्मा विचाराधीन एकीकृत निर्वाचन व्यवस्थापन विधेयकअनुसार आवश्यक नियमावलीको मस्यौदा तयार गर्ने, निर्वाचन प्रक्रियामा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी अवधारणा विकास गर्ने निर्णय गरेको छ।
त्यस्तै, मतदाता नामावलीलाई थप व्यवस्थित, त्रुटिरहित र अद्यावधिक बनाउने कार्यक्रम सञ्चालन गर्ने तथा बदलिँदो आवश्यकता र प्रविधिको विकासअनुसार निर्वाचन सुधार रणनीति तयार एवं परिमार्जन गर्ने विषयलाई पनि आयोगले प्राथमिकतामा राखेको छ।
आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०८१/०८२-२०८५/०८६) को मध्यावधि समीक्षा गर्ने निर्णयसमेत गरेको जनाएको छ। नयाँ नेतृत्वसँगै आयोगले निर्वाचन प्रणाली सुधार, प्रविधिमैत्री व्यवस्थापन र संस्थागत प्रभावकारितालाई प्राथमिकतामा राखेर आगामी काम अघि बढाउने संकेत गरेको छ।






