काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८४ देखि लागू हुने गरी प्रारम्भिक बाल विकास तथा शिक्षा र आधारभूत तहका केही कक्षाको पाठ्यक्रम परिमार्जन गरेको जनाएको छ।
केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को सिफारिस, शिक्षा तथा खेलकुद मन्त्रालयको निर्णय तथा सम्बन्धित निकायको स्वीकृति अनुसार पाठ्यक्रम संशोधन गरिएको हो।
परिमार्जित पाठ्यक्रम अनुसार सामाजिक अध्ययन विषय अन्तर्गत कक्षा ४ देखि १२ सम्मका पाठ्यपुस्तक तथा कक्षा ५, ८, १० र १२ का पाठ्यक्रम विकास गरिएका छन्। त्यस्तै, आधारभूत तहअन्तर्गत कक्षा १ देखि ३ को परिमार्जित पाठ्यक्रम र प्रारम्भिक बाल विकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम पनि लागू हुने जनाइएको छ।
पाठ्यक्रम विकास केन्द्रले संशोधित पाठ्यक्रम शैक्षिक सत्र २०८४ बाट कार्यान्वयन हुने भएकाले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र सरोकारवाला निकायलाई आवश्यक जानकारी गराएको छ।
केन्द्रका अनुसार नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक तयारी र समन्वय सम्बन्धित निकायबाट गर्नुपर्नेछ।







