काठमाडौँ । इजिप्टको खुद वैदेशिक मुद्रा सञ्चिति जुलाई महिनाको अन्त्यसम्ममा ५६.३ अर्ब अमेरिकी डलर पुगेको छ ।
इजिप्टको केन्द्रिय बैंकले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार यो हालसम्मकै उच्च सञ्चिति हो । केन्द्रिय बैंकले जारी गरेको विज्ञप्तिअनुसार जुन महिनाको अन्त्यमा ५५.०७२ अर्ब डलर रहेको सञ्चितिमा जुलाईमा १।२२१ अर्ब डलरले वृद्धि भएको छ । यो अघिल्लो महिनाको तुलनामा २।२ प्रतिशतको बढोत्तरी हो ।
यसअघि इजिप्ट सरकारले एक विज्ञप्ति जारी गर्दै सञ्चितिमा भएको यस वृद्धिलाई देशको अर्थतन्त्रको सबलता र वाह्य चुनौतीहरूका बाबजुद स्थिरता कायम राख्न सक्ने क्षमताको रूपमा व्याख्या गरेको थियो । वैदेशिक मुद्राको आप्रवाहमा भएको सुधारले सञ्चिति बढाउन मद्दत पुगेको र यसबाट इजिप्टलाई आफ्नो वैदेशिक दायित्वहरू पूरा गर्न तथा वित्तीय एवं मौद्रिक स्थिरता कायम राख्न सहज हुने सरकारले जनाएको छ । इजिप्टले आफ्नो वैदेशिक मुद्रा सञ्चितिलाई अत्यावश्यक वस्तुको आयात, वैदेशिक ऋणको भुक्तानी र अर्थतन्त्रमा आउन सक्ने सम्भावित बाह्य जोखिम न्यूनीकरणका लागि उपयोग गर्ने गर्दछ ।
उक्त सञ्चितिमा सुनका अतिरिक्त अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड र चिनियाँ युआन जस्ता प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरू समावेश छन् ।






