काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी प्रभावकारी हुन नसकेको भन्दै विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका आवश्यक तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीवार राष्ट्रिय सभाको बैठकमा ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्तावमाथिको छलफलमा सहभागी सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद मदनकुमारी शाहले विपद् पूर्वसूचना, पूर्वतयारी र उद्धार व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेका मुलुकका अनुभवका आधारमा विपद् कार्ययोजना बनाउनुपर्ने बताइन्। उनले जापानबाट विद्यालय तहदेखि नै विपद् शिक्षा दिने अभ्यास र बंगलादेशबाट दीर्घकालीन जल नीति तथा नदी व्यवस्थापनको मोडल सिक्न सकिने उल्लेख गरिन्। उनले जलवायुजन्य विपद् दैनिक जीवनको चुनौती बन्दै गएकाले समुदायस्तरसम्म विपद् शिक्षा विस्तार गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।
उनले नेपालको भू–बनावटअनुसार निर्माण मापदण्ड तयार गरी त्यसको कडाइका साथ कार्यान्वयन गर्न पनि आग्रह गरिन् ।
उनले भनिन्, ‘विपद्सम्बन्धी पूर्वसूचना, पूर्वतयारी, र उद्धार व्यवस्थापनमा उल्लेखनीय सफलता प्राप्त गरेका देशहरूका असल अभ्यासबाट हामी सिक्न सक्छौँ । र ती अभ्यासहरू हामी पनि कार्यान्वयन गर्न सक्छौँ । जस्तै जापानबाट विपद् शिक्षा कसरी दिने भन्ने कुरा सिक्न सकिन्छ भने बंगादेलशबाट दीर्घकालीन जल नीति बनाएर नदी व्यवस्थापन कसरी गर्न सकिन्छ रु भन्ने बारेमा सिक्न सक्छौँ । जलवायुजन्य विपद् हाम्रो जीवनको अभिन्न कुरा जस्तै बन्दै गएको छ । तसर्थ उल्लेखित तयारी बाहेक विद्यालयदेखि समुदायसम्म विपद् शिक्षा दिनु अपरिहार्य छ । सरकारले यतातिर पनि विशेष योजना बनाओस् । र भूबनोटअनुरुप निर्माण मापदण्ड बनाएर यसलाई कडाइका साथ लागु गराओस् ।’
नेकपा ९एमाले०का सांसद सोमनाथ पार्तेलले यस वर्षको मनसुनमा हालसम्म ८१ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै यो संख्या गत वर्षको सोही अवधिको तुलनामा छ जनाले बढी रहेको बताए । उनले सरकारले विपद् पूर्वतयारी नगरेको तथा विपद् प्रतिकार्यमा समेत कमजोर रहेको आरोप लगाए । उनले विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले प्रभावकारी पूर्वतयारी गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘यो वर्षको मनसुनमा हालसम्म ८१ जनाको निधन भएको छ । गत वर्षको तुलनामा यो ६ जनाले बढी हो । गत वर्षको मनसुनजन्य विपद्मा ७५ जनाको निधन भएको थियो । यो क्षति न्यूनीकरण गर्नको लागि सरकारले कसरी ध्यान दिइरहेको छ रु विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणको लागि सरकारले आवश्यक पूर्वतयारी गर्नुपर्छ । विगतका सरकारले दिएका जस्ता ओठे जवाफ हामीले यो सरकारबाट खोजेका छैनौँ । सरकारको प्रतिबद्धता, सरकारको दृढता हामीले खोजेका छौँ ।’
नेपाली काँग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले प्रत्येक वर्ष जेठ–असारदेखि मनसुनजन्य विपद् दोहोरिने भएपनि सरकारको तयारी र कार्यान्वयन अत्यन्त कमजोर हुने गरेको बताए।
उनले विपद्को पूर्वतयारी नगर्ने विपद्पछिको उद्धार र प्रतिकार्यमा केन्द्रित हुने प्रवृत्तिले ठूलो धनजनको क्षति हुने गरेको बताए ।
उनले भने, ‘सरकारले जुन यो प्रत्येक वर्षको जेठ असारमा आउने गरेको छ । तर यसको कार्यान्वयनको अवस्था अत्यन्तै फितलो छ । सरकार र समुदाय पनि विपद् कहिले आउला र प्रतिकार्य तथा उद्धारका कार्य गरौँला भनेर बसिरहेको अवस्थामा हुन्छ । त्यसकारण सरकारले के बुझिदिनुपर्यो भने प्रत्येक विपद्को पूर्वतयारी गर्न सक्यौँ भने विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।’
छलफलमा सहभागी अन्य सांसदहरुले समेत विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।






