काठमाडौँ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे मिलन’ले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। सर्वोच्चले विशेष अदालतबाट भएको सफाइको निर्णयलाई सदर गरेपछि उक्त मुद्दा टुंगिएको हो।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले बिहीबार विशेष अदालतको फैसला सदर गरेको हो। विशेष अदालतको निर्णयविरुद्ध सरकारले २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा २०७० जेठमा चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अवैध गतिविधिबाट रकम आर्जन गरेको, धम्कीका माध्यमबाट रकम असुलेको तथा त्यस्तो रकमबाट प्राप्त सम्पत्तिलाई वैध देखाउने उद्देश्यले विभिन्न क्षेत्रमा लगानी गरेको अभियोग उनीहरूमाथि लगाइएको थियो।
विभागले अदालतमा दायर गरेको अभियोग पत्रमा चक्रे मिलनले करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरेको थियो। काठमाडौँमा ७ आना जग्गा तथा परिवारका सदस्यको नाममा काठमाडौँ र गोरखामा करिब ३० रोपनी जग्गासहित करिब ७ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको विभागको दाबी थियो।
यसै मुद्दामा प्रतिवादी रहेका राजीव गुरुङ ‘दीपक मनाङे’ले भने २०७४ माघ १० गते नै सफाइ पाइसकेका थिए।
मुद्दाका अन्य प्रतिवादी गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीसम्बन्धी मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।






