काठमाडौँ । दैलेखमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कर्णाली राजमार्गअन्तर्गत दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित पुलमा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–८ का ४१ वर्षीय प्रेमबहादुर रोकाय क्षेत्री रहेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक रोकाय ट्रकमुनि च्यापिन पुगेका थिए।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






